इटहरी । सुनसरीका खसी तथा बोका मासु व्यवसायीहरूको जिल्ला भेलाले कमल बहादुर थापाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। इटहरीस्थित त्रियुगा होटलमा सम्पन्न भेलाले व्यवसायीहरूको हकहित संरक्षण
व्यवसायको प्रवर्द्धन तथा मासु बिक्री वितरणलाई व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।
भेलामा जिल्लाभरिका खसी तथा बोका मासु व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मासु व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या, व्यवसायलाई मर्यादित बनाउने उपाय तथा उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने विषयमा छलफल गरिएको थियो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मो. सलिम हुसेन, सचिवमा सन्तोष प्रसाद आचार्य र कोषाध्यक्षमा जितेन्द्र चौधरी चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा लाल बहादुर बुढाथोकी, मो. इन्ताज आलम, कुर्बान हुसेन, सजाद हुसेन, हदिस मियाँ, मो. नसरुदिन र भीम बहादुर विष्ट चयन भएका छन्।
भेलाले व्यवसायीहरूलाई आवश्यक सुझाव तथा मार्गदर्शन प्रदान गर्न सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। सल्लाहकार समितिमा दम प्रसाद श्रेष्ठ, देवी प्रसाद गौतम, मो. मोम्ताज आलम, मो. जलाल हुसेन, भुवन सिंह खड्का, राम बहादुर खड्का र केशव खड्का रहेका छन्।
नवनिर्वाचित पदाधिकारीहरूले सुनसरीका खसी तथा बोका मासु व्यवसायीहरूको हकहित संरक्षण, आपसी एकता अभिवृद्धि र व्यवसायलाई थप व्यवस्थित बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी, स्थानीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्दै मासु बिक्री वितरणमा आवश्यक मापदण्ड पालना गराउने, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ मासु उपलब्ध गराउने र व्यवसायमा पारदर्शिता कायम गर्न पहल गर्ने अपेक्षा गरिएको छ।
नयाँ कार्यसमितिको गठनसँगै जिल्लाका खसी तथा बोका मासु व्यवसायीहरूलाई संगठित गर्दै उनीहरूका साझा समस्या समाधान गर्न सहज हुने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।




















