इटहरी । इटहरी जेसीजको आयोजनामा सञ्चालन भइरहेको जेसीज सप्ताह–२०२६ अन्तर्गत ‘लेट देवेन्द्र कु . श्रेष्ठ मेमोरियल इन्टर जेसीज रनिङ क्विज प्रतियोगिता’ सम्पन्न भएको छ। विभिन्न जेसीज शाखाबीच प्रतिस्पर्धा गराइएको प्रतियोगितामा जेसीआई तरहराले सर्वाधिक ९३ अंक प्राप्त गर्दै अग्रता हासिल गरेको छ।
२०८३ साल भदौ २७ गते आयोजित प्रतियोगितामा विभिन्न जेसीज शाखाको सहभागिता रहेको थियो। प्रतियोगिता ज्ञान, समसामयिक विषय, इतिहास तथा साहित्य, विज्ञान तथा प्रविधि, खेलकुद र श्रव्य–दृश्य सामग्रीमा आधारित विभिन्न चरणमा सञ्चालन गरिएको थियो।

प्रतियोगितामा राउन्ड १ देखि राउन्ड ८ सम्म विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो। जसमा इटहरी राउन्ड, जेसीज राउन्ड, समसामयिक विषय, इतिहास/साहित्य, विज्ञान तथा प्रविधि, खेलकुद, र्यापिड फायर तथा अडियो/भिजुअल राउन्ड समावेश थिए। आवश्यक परे राउन्ड ९ मा टाइ-ब्रेकरको व्यवस्था गरिएको थियो।

उपलब्ध स्कोर विवरणअनुसार जेसीआई तरहरा ९३ अंकसहित पहिलो स्थानमा रहेको छ। त्यस्तै जेसीआई विराटनगरले ८० अंक तथा जेसीआई रमाइलोले ६२ अंक प्राप्त गरेका छन्।
स्कोर विवरणअनुसार अन्य शाखाहरूमा जेसीआई पथरी ५७, जेसीआई इनरुवा ५१, जेसीआई चक्रघट्टी ४६, जेसीआई ग्रामथान १९, जेसीआई लेटाङ १७, जेसीआई इन्द्रपुर १० र जेसीआई इटहरी लेडी २ अंकमा रहेका छन्।
इटहरी जेसीजले युवामा नेतृत्व विकास, ज्ञान अभिवृद्धि, प्रतिस्पर्धात्मक क्षमता तथा आपसी सहकार्य बढाउने उद्देश्यले जेसीज सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। ‘Developing Leaders for a Changing World’ भन्ने मूल भावनाका साथ सञ्चालन भइरहेको सप्ताहमा वक्तृत्वकला, धार्मिक हाजिरीजवाफ, स्वास्थ्य शिविर, शिक्षा तथा सामाजिक सेवासहित विभिन्न कार्यक्रम समावेश छन्।

यसअघि जेसीज सप्ताहअन्तर्गत धार्मिक हाजिरीजवाफ प्रतियोगिता पनि इटहरीको वृद्ध चौतारीमा सम्पन्न भएको थियो। कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसरमा आयोजित उक्त कार्यक्रममा ज्येष्ठ नागरिकलाई खिर खुवाउनुका साथै १६ वटा प्रश्न समावेश गरिएको हाजिरीजवाफ प्रतियोगितामा सही उत्तर मिलाउने १६ जनालाई पुरस्कार वितरण गरिएको थियो।
इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुली, प्रमुख सह–समन्वयक/EVP जेसी प्रमोद घिमिरे (भान्जा) तथा महासचिव जेसी टंकमणि न्यौपाने (रबिन) रहेका छन्।




















