इटहरी । इटहरी जेसीजद्वारा आयोजित ‘जेसीज सप्ताह २०२६’ अन्तर्गतको वक्तृत्वकला प्रतियोगितामा सुष्मा गोदावारी कलेज, इटहरीकी श्रेयसी भण्डारी प्रथम भएकी छन्। 'परिवर्तन, सहकार्य र नेतृत्व ’ विषयमा आयोजित प्रतियोगितामा कोशी सेन्ट जेम्स कलेज, इटहरी द्वितीय र विश्व आदर्श कलेज, इटहरीतृतीय भएका छन्।
विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास तथा आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘भोइस अफ टुमोरो’ (लेट टंकप्रसाद निरौला मेमोरियल अन्तरविद्यालय (+२) वक्तृत्वकला प्रतियोगिता मा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा सुष्मा गोदावारी कलेज, इटहरीकी श्रेयसी भण्डारीले ४०.६६ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी हुन्। त्यस्तै कोशी सेन्ट जेम्स कलेज, इटहरीकी योजना चौधरीले ३७.६६ अंकसहित द्वितीय र विश्व आदर्श कलेज, इटहरीकी रमणा राईले ३६.५६ अंकसहित तृतीय स्थान हासिल गरेको हो।
प्रतियोगितामा विद्यार्थीहरूले 'परिवर्तन, सहकार्य र नेतृत्व ’ विषयमाथि आफ्ना धारणा प्रस्तुत गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन युवा पुस्ताको भूमिका, सोच र सक्रियताबारे विचार व्यक्त गरेका थिए।

जेसीज सप्ताहअन्तर्गत सात कार्यक्रम
इटहरी जेसीजले युवाको नेतृत्व विकास र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आयोजना गरेको ‘जेसीज सप्ताह २०२६’ अन्तर्गत विभिन्न सातवटा कार्यक्रम सञ्चालन भइरहेका छन्। सप्ताह भदौ २५ देखि ३१ गतेसम्म विभिन्न गतिविधिका साथ आयोजना भइरहेको छ।
सप्ताहअन्तर्गत ह्विलचेयर म्याराथन तथा उद्घाटन समारोह, ‘शिक्षा उपहार’, ‘भोइस अफ टुमोरो’ वक्तृत्वकला प्रतियोगिता, धार्मिक क्विज प्रतियोगिता, अन्तर जेसीज रनिङ क्विज प्रतियोगिता, स्वास्थ्य शिविर तथा ‘लिडर्स फर टुमोरो एन्ड क्लोजिङ सेरेमनी’ आयोजना गरिँदैछ।

‘Developing Leaders for a Changing World’ भन्ने मूल भावनाका साथ आयोजना भइरहेको जेसीज सप्ताहले विद्यार्थी तथा युवामा नेतृत्व क्षमता विकाससँगै सामाजिक सेवा, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सकारात्मक योगदान पुर्याउने लक्ष्य राखेको इटहरी जेसीजले जनाएको छ।
वक्तृत्वकला प्रतियोगिताको समन्वय जेसी सुगम कार्कीले गरेका थिए। इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुली, प्रमुख सह-समन्वयक/EVP जेसी प्रमोद घिमिरे (भान्जा) तथा महासचिव जेसी टंकमणि न्यौपाने (रबिन) रहेका छन्।




















