इटहरी । पौराणिक पात्रलाई आधुनिक परिवेशमा प्रस्तुत गरिएको नेपाली फिल्म ‘पाँच पाण्डव’ले आफ्नो प्रचार अभियानलाई थप मनोरञ्जनात्मक बनाएको छ। फिल्मको आइटम गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएसँगै अभिनेत्री इभा गिरीको आकर्षक नृत्य र ग्ल्यामरस अवतार चर्चामा आएको छ।
तिहारको अवसर पारेर आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको गीतमा इभालाई फरक र बोल्ड लुक्समा प्रस्तुत गरिएको छ। क्यासिनोको भव्य सेट, रंगीन प्रकाश र आकर्षक सजावटबीच छायांकन गरिएको भिडियोमा उनको नृत्यले विशेष स्थान पाएको छ।
गीतमा इभासँगै फिल्मका पाँच पाण्डव पनि देखिएका छन्। उनीहरूबीचको रोमान्टिक दृश्य र नृत्यले गीतलाई थप मनोरञ्जनात्मक बनाएको छ। शाही शर्मा मजगन्याको शब्द, अर्जुन पोखरेलको संगीत तथा एलिना चौहान, सुरेश लामा र ध्रुव विकेको स्वर रहेको गीतले फिल्मप्रति दर्शकको चासो बढाउने निर्माण पक्षको अपेक्षा छ।

वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म नवीन श्रेष्ठको प्रस्तुति र कालीरानी श्रेष्ठको निर्माणमा तयार भएको हो। सुशील पौडेलले लेखेको फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, इभा गिरी, सरिता गिरी, प्रशान्त ताम्राकार र विनोद न्यौपानेसहित बाल कलाकार अनुष्का ढुङ्गाना र इभा प्याकुरेलको अभिनय रहेको छ।
फिल्मको कथाले द्वापर युगका पाँच पाण्डव कलियुगमा आइपुगेपछि कस्तो जीवन बिताउँछन् भन्ने रोचक कल्पनालाई समेटेको छ। पौराणिक पात्रलाई आजको सामाजिक परिवेशमा उतार्दै दाजुभाइबीचको सम्बन्ध, पारिवारिक भावना र आपसी सद्भावलाई कथाको केन्द्रमा राखिएको छ।
फरक कथावस्तु, चर्चित कलाकारको जमघट र मनोरञ्जनात्मक गीत–संगीतका कारण प्रदर्शनको तयारीमा रहेको ‘पाँच पाण्डव’ले दर्शकमाझ उत्सुकता बढाइरहेको छ। फिल्म आगामी कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।




















