चितवन । नारायणी नदीमा बाढीले बगाएर ल्याएका ६७ वटा शव संकलन गरिएको छ । नदीमा भेटिएका शव संकलन गरी विभिन्न अस्पतालमा सुरक्षित राखिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिएका छन् ।
प्रशासनका अनुसार संकलित शवको पहिचान गर्ने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको छ । चीनको तिब्बततर्फबाट बुधबार आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि बेपत्ताहरूको शव नारायणी नदी हुँदै चितवनसम्म आइपुगेको हुन सक्ने आशंका गरिएको छ ।
यही आशंकाका आधारमा नारायणी नदी र आसपासका क्षेत्रमा खोजी तथा शव संकलन कार्यलाई तीव्रता दिइएको प्रशासनले जनाएको छ ।

फोटो : निसा श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
शवको संख्या बढ्दै जाँदा चितवनमा व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको छ । जिल्लामा एकपटकमा करिब ५० वटा शव मात्र सुरक्षित रूपमा राख्न सकिने क्षमता रहेकाले थप शवका लागि वैकल्पिक व्यवस्थाको तयारी थालिएको हो ।
शव राख्ने स्थान अभाव भएपछि प्रयोगमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भवनमा कोल्ड स्टोर निर्माण गरी शव व्यवस्थापन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले बताएका छन् ।

फोटो : निसा श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
प्रशासनले नारायणी नदीमा अझै थप शव आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै खोजी तथा उद्धार अभियान जारी राखेको छ । संकलित शवको पहिचान, कानुनी प्रक्रिया र सुरक्षित व्यवस्थापनका लागि प्रशासन, प्रहरी तथा सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाइएको छ ।




















