जापान । गैरआवासीय नेपाली संघ (NRNA)  को आगामी कार्यकाल 2025–2027 का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य पदमा राजकुमार अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। जापानस्थित NRNA राष्ट्रिय समन्वय परिषद् (NCC-Japan)  सक्रिय रहँदै आएका अधिकारीले “नेपालीका लागि नेपाली” भन्ने मूल नारासहित चुनावी अभियान थालेका हुन्।

उनले चार प्रमुख प्रतिबद्धताहरू  एकता, सशक्तीकरण, सहयोग र विकासलाई आफ्नो अभियानको आधार बनाएका छन्। जापानमा बसोबास गर्दै आएका नेपाली समुदायका हकहितका सवालमा सक्रिय भूमिका निर्वाह गर्दै आएका अधिकारीले  NRNA लाई अझ सक्षम, पारदर्शी र उत्तरदायी संस्था बनाउने लक्ष्य लिएका छन्।

उनको प्रचार सामग्रीमा देखिएको नारा, राष्ट्रिय झण्डाको प्रयोग, र मतदाताहरूलाई मतदानको सन्देशले प्रवासी नेपालीहरूमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

राजकुमार अधिकारीको अनुभव, समर्पण र नेतृत्व क्षमताले उनलाई सशक्त उम्मेदवार बनाएको समर्थकहरू बताउँछन्। उनी विगत केही वर्षदेखि सामाजिक, सांस्कृतिक र आपतकालीन सहयोगका कार्यहरूमा अग्रसर देखिएका छन्।  अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन नजिकिँदै गर्दा प्रवासी नेपाली समुदायमा नयाँ नेतृत्वप्रति आशा र उत्साह बढ्दै गएको छ। अधिकारीको उम्मेदवारीले जापानमा रहेका नेपालीहरूबीच एकताको सन्देश दिएको छ।


उनले  NRNA  लाई सबै नेपालीहरूको साझा संस्था बनाउनका लागि सबैको साथ र समर्थनको अपिल गरेका छन्।