सुनसरी – कोसी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा दुहबी क्यापिटल्स ले लगातार तेस्रो हार बेहोरेको छ। शुक्रबार, सुनसरीको भोक्राहा नरसिंह अर्नाज सँगको खेलमा दुहबी ६१ रनले पराजित भयो।

भोक्राहा अर्नाजले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याउँदै दुहबी १६.४ ओभरमै ६९ रनमा समेटियो। दुहबीका विवेक यादवले सर्वाधिक २५ रन बनाए भने शाहाब आलमले ११ रन जोडे। तर, बाँकी खेलाडी दोहोरो अंकमा रन बनाउन असफल रहे। आश गरिएका विनोद भण्डारी र लोकेश बम चल्न सकेनन्।

भोक्राहाका बलर रोहन शाहले ४ विकेट, भुवन कार्कीले ३ विकेट, र हेमन्त धामीले २ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको भोक्राहाले १९.३ ओभरमा १३० रन बनाएको थियो, जसमा किरण ठगुन्नाले २७ रन, भुवन कार्कीले १९ रन (नटआउट), सन्दीप ढुंगानाले १६ रन, र कप्तान अंकित सुबेदीले १४ रन बनाए। दुहबीका शाहब आलमले ३ विकेट, लोकेश बम, विवेक यादव, र कप्तान सितोष शाहले २/२ विकेट लिए।


इटहरी जायन्ट्सलाई नमुना ब्लास्टर्सको रोमाञ्चक १ रनको जित


शुक्रबारको दोस्रो खेलमा इटहरी आदर्श जायन्ट्स ले पहिलो हार बेहोरेको छ। यसअघि लगातार दुई जित निकालेको इटहरीलाई नमुना ब्लास्टर्सले १ रनले पराजित गर्यो।


१५६ रनको लक्ष्य पछ्याएको इटहरीले निर्धारित २० ओभरमा १५४ रनमै सबै विकेट गुमायो। अन्तिम बलमा २ रन आवश्यक हुँदा कप्तान भूपाल लुइँटेल क्याच आउट भएपछि नमुनाले नाटकीय जित दर्ता गर्यो।

अन्तिम ओभरमा जितको लागि ५ रन आवश्यक हुँदा इटहरीको २ विकेट बाँकी थियो। कुशल भुर्तेलको पहिलो २ बलमा ३ रन आएपछि खेल झनै रोमाञ्चक बन्यो। तेस्रो बलमा ३१ रन बनाएका दिपेश कँडेल आउट भए। त्यसपछि कप्तान भूपालले लगातार २ बलमा रन बनाउन नसक्दा इटहरीको पराजय निश्चित भयो।

इटहरीका लागि दिपेश कँडेल र फिर्दोश अन्सारीले समान ३१ रन, आसिफ शेखले २४ रन, भीम सार्कीले २३ रन, र मिनास थापाले २२ रन बनाए। नमुनाका बलर प्रकाश कार्कीले ४ विकेट, नन्दन यादव र कुशल भुर्तेलले २/२ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ५९ रन (७ चौका, ३ छक्का), कुशल मल्लले ४४ रन, र इशान पाण्डेले २७ रन बनाए। इटहरीका बलर गुल्सन झाले ३ विकेट, विपिन खत्री, भूपाल लुइँटेल, र फिर्दोश अन्सारीले १/१ विकेट लिए।