टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ ।

लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १:२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

टर्की र सिरियामा सोमबार गएको दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि समय र कठ्यांग्रिँदो जाडोको सामना गरिरहेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

टर्की र सिरियाबीचको सिमाना खुलाएर सिरियासम्म राहत पुर्याउन प्रयास भइरहेको टर्कीका विदेशमन्त्रीले बताएका छन् । युरोपेली संघले सिरिया सरकारको अनुरोधमा ३५ लाख युरो बराबरको राहत पठाउने घोषणा गरेको छ ।

सिरियाका राष्ट्रपति बसर अल असदलाई युरोपेली संघले नस्वीकारे पनि विपदको बेला सहयोग भने पठाइएको छ । आफूले गरेको सहयोग सरकार र विद्रोही नियन्त्रित सबै क्षेत्रहरुमा पुग्नुपर्ने युरोपेली संघले भनेको बीबीसीले जनाएको छ ।

नेपाल सरकारले पनि टर्कीमा चिकित्सकसहित राहत पठाउने गृहकार्य गरिरहेको छ ।