इटहरी । बालबालिकालाई यौन दुर्व्यवहार, हिंसा तथा विभिन्न जोखिमबाट जोगाउँदै उनीहरूको अधिकार संरक्षणका लागि अपनाउनुपर्ने उपायबारे इटहरीमा कार्यक्रम आयोजना गरिएको छ ।
भ्वाइस अफ चिल्ड्रेन कोशी प्रदेश कार्यालयको आयोजनामा इटहरीस्थित इनटुरिस्ट होटलमा ‘बालमैत्री न्याय प्रणालीसम्बन्धी सरोकारवालाको भूमिका’ विषयक कार्यक्रमकाे आयोजना गरिएको हो । कार्यक्रममा बालबालिकामाथि हुने यौन दुर्व्यवहार तथा हिंसाका घटना रोकथाम, कानुनी प्रक्रिया र बालमैत्री न्याय प्रणालीका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता भ्वाइस अफ चिल्ड्रेन कोशी प्रदेश प्रमुख भरत थापाले गरेका थिए । उनले बालबालिकालाई यौन दुर्व्यवहारबाट कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा जानकारी गराउँदै बालबालिकाको सुरक्षा र अधिकार संरक्षणमा अभिभावक, विद्यालय, समुदाय तथा सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि सुनसरी जिल्ला अदालतका माननीय न्यायाधीश कुमार मास्केले बालबालिकामाथि दुर्व्यवहार तथा यौन हिंसा भएमा प्रचलित कानुनअनुसार हुने कारबाही र अदालतबाट हुने फैसलाका विषयमा जानकारी गराए । उनले बालबालिकासम्बन्धी मुद्दाको न्यायिक प्रक्रियाबारे समेत सहभागीलाई प्रस्ट पारे ।
त्यस्तै, विशिष्ट अतिथि कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब उपरीक्षक नारायण अधिकारीले बालबालिकालाई यौन दुर्व्यवहार तथा घरेलु हिंसाबाट जोगाउन अपनाउनुपर्ने उपायबारे जानकारी दिए । उनले सानै उमेरमा बालबालिकालाई स्मार्टफोन, ल्यापटपलगायतका उपकरण दिँदा सामाजिक सञ्जालको प्रयोगमार्फत उनीहरू विभिन्न नकारात्मक गतिविधि तथा हिंसाको जोखिममा पर्न सक्ने बताए । त्यसैले बालबालिकाको डिजिटल गतिविधिप्रति अभिभावक तथा सरोकारवालाले उचित निगरानी र सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सुनसरी जिल्ला अदालतका श्रेस्तेदार टेकेन्द्रजंग राणासहित विभिन्न स्थानीय तहका कर्मचारी, नेपाल प्रहरीका प्रतिनिधि, न्यायाधीश, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा विभिन्न सञ्चार माध्यममा आबद्ध
सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यशालामा बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहार न्यूनीकरण, कानुनी संरक्षण र बालमैत्री न्याय प्रणालीलाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफलसमेत गरिएको थियो।




















