दुहबी । सुनसरीको दुहबीमा विगत आठ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको गणेश चतुर्थी उत्सव यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदैछ। गणेश चतुर्थीको अवसरमा दुहबीमा १४ फिट अग्लो गणेशको प्रतिमा स्थापना गरी पूजा–आराधना तथा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो।
उत्सवको विशेष आकर्षणका रूपमा साँझको समयमा भारतबाट आएका ख्यातिप्राप्त भजन कलाकारहरूले भजन तथा धार्मिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। भजन प्रस्तुतिका क्रममा भक्तजन तथा दर्शकलाई धार्मिक एवं सांगीतिक मनोरञ्जन प्रदान गर्ने आयोजकको तयारी छ।

तस्बिर : गुरु ढकाल
स्थानीयवासीको सक्रियतामा हुँदै आएको गणेश उत्सव यस वर्ष दुई दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। उत्सवका लागि गणेशको विशाल प्रतिमा स्थापना गरिसकिएको छ भने भक्तजन तथा स्थानीयवासीको सहभागितामा विभिन्न कार्यक्रम गरिने तयारी गरिएको छ।
गणेश चतुर्थीको अवसरमा गणेश भगवानको पूजा–आराधना, दर्शन तथा धार्मिक गतिविधिमा सहभागी हुन स्थानीयवासीसँगै आसपासका क्षेत्रबाट समेत भक्तजन आउने अपेक्षा गरिएको छ।

तस्बिर : गुरु ढकाल
विगत आठ वर्षदेखि स्थानीयको सहभागिता र सहकार्यमा निरन्तर हुँदै आएको गणेश उत्सवले दुहबीमा धार्मिक आस्था र सामाजिक एकताको वातावरण निर्माण गर्न सहयोग पुर्याउँदै आएको स्थानीयको भनाइ छ।
यस वर्ष पनि उत्सवलाई थप व्यवस्थित र भव्य बनाउन स्थानीय तथा आयोजकहरू तयारीमा जुटेका छन्। दुई दिनसम्म चल्ने उत्सवमा धार्मिक कार्यक्रमसँगै सांस्कृतिक प्रस्तुति रहने भएकाले दुहबीमा गणेश चतुर्थीको रौनक थपिने अपेक्षा गरिएको छ।




















