इटहरी । सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले गढी र बर्जु गाउँपालिकामा आवश्यक जनशक्ति र स्रोतसाधनसहित पूर्ण प्रहरी सेवा विस्तार गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै चौधरीले स्थानीय नागरिकले आफ्नै क्षेत्रमा समयमै सुरक्षा सेवा प्राप्त गर्न सक्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
गढी र बर्जु भौगोलिक रूपमा फैलिएका तथा सीमा क्षेत्रसँग जोडिएका कारण चोरी, लागूऔषध कारोबार र तस्करीजस्ता गतिविधिको जोखिम रहेको उनको भनाइ थियो। स्थानीयस्तरबाट सुरक्षा व्यवस्थाबारे निरन्तर गुनासो आउने गरेको उल्लेख गर्दै उनले घटनापछि तत्काल प्रहरी परिचालन हुन नसक्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए।
विशेषगरी बर्जुका नागरिकले सामान्य प्रहरी सेवा तथा मुद्दासम्बन्धी कामका लागि समेत विराटनगर हुँदै दुहवी पुग्नुपर्ने अवस्था रहेको चौधरीले बताए। प्रहरी सेवा लिनकै लागि लामो दूरी तय गर्नुपर्ने बाध्यताले स्थानीयलाई थप समस्या भएको उनको भनाइ थियो।
‘जनतालाई प्रहरीको नाम होइन, आवश्यक पर्दा देखिने प्रहरी चाहिएको छ,’ चौधरीले भने, ‘गाउँमै राज्यको सुरक्षा उपस्थितिको अनुभूति हुने व्यवस्था आवश्यक छ।’
उनले गढी र बर्जुका इलाका प्रहरी कार्यालयमा आवश्यक दरबन्दी थप गर्नुका साथै सवारीसाधन, सञ्चार उपकरण र अपराध अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन माग गरे।
त्यस्तै, सीमा क्षेत्रमा नियमित गस्ती तथा निगरानी बढाउन र लागूऔषध तथा तस्करी नियन्त्रणका लागि प्रभावकारी सुरक्षा योजना लागू गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन्।




















