इटहरी । आन्तरिक पर्यटन प्रवर्द्धनसँगै देशका विभिन्न पर्यटकीय गन्तव्यमा सहज र व्यवस्थित भ्रमणको सुविधा उपलब्ध गराउने उद्देश्यले इटहरीमा स्मार्ट सहजिलो ट्राभल एण्ड टुर प्रा.लि.ले आफ्नै कार्यालय सञ्चालनमा ल्याएको छ।
इटहरीको पश्चिम लाइनस्थित एनसेल गल्लीभित्र रहेको कार्यालयको औपचारिक उद्घाटन कम्पनीका फाउन्डर तथा म्यानेजिङ डाइरेक्टर गणेश अधिकारी, मार्केटिङ म्यानेजर सुजन अधिकारी र बिजनेस डेभलपमेन्ट म्यानेजर सञ्जीव तिम्सिनाले संयुक्त रूपमा गर्नुभयो।
केही समयदेखि ट्राभल तथा टुरसम्बन्धी सेवा दिँदै आएको कम्पनीले अब भौतिक कार्यालयमार्फत ग्राहकलाई थप व्यवस्थित सेवा दिने जनाएको छ। कम्पनीले पर्यटकीय बस सेवा, होटल बुकिङ, विभिन्न टुर प्याकेज, ट्राभल इन्स्योरेन्स तथा गाइड सेवा उपलब्ध गराउनेछ।
त्यसैगरी विद्यार्थी, परिवार, साथीभाइ तथा विभिन्न संघ–संस्थाका समूहलाई लक्षित गरी आवश्यकता र बजेटअनुसारका भ्रमण प्याकेजसमेत सञ्चालन गरिने कम्पनीले जनाएको छ।
स्मार्ट सहजिलोले नेपालका आकर्षक पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेको छ। कम्पनीका अनुसार मुस्ताङ, पोखरा, चितवन, लुम्बिनी, रारा, मुगु लगायतका क्षेत्रमा विभिन्न अवधिका टुर प्याकेज सञ्चालन गरिनेछ।
कम्पनीका फाउन्डर तथा म्यानेजिङ डाइरेक्टर गणेश अधिकारीले युवालाई वैदेशिक रोजगारीमा मात्र निर्भर हुनुपर्ने अवस्थाबाट बाहिर निकाल्दै स्वदेशमै व्यवसाय र रोजगारीको सम्भावना सिर्जना गर्ने सोचका साथ ट्राभल व्यवसायमा प्रवेश गरेको बताउनुभयो।
उहाँका अनुसार नेपालभित्रै घुमफिर गर्ने संस्कृति विस्तार हुँदै गएकाले आन्तरिक पर्यटनलाई व्यवसायसँग जोडेर अघि बढ्ने सम्भावना पनि उत्तिकै छ।
कार्यालय सञ्चालनमा आएसँगै ग्राहकले भ्रमणका लागि छुट्टाछुट्टै सेवा खोजिरहनुपर्ने अवस्थाको अन्त्य गर्दै यातायातदेखि होटल, टुर प्याकेज, बीमा र गाइडसम्मका सेवा एउटै ठाउँबाट लिन सक्ने कम्पनीको भनाइ छ।
बिजनेस डेभलपमेन्ट म्यानेजर सञ्जीव तिम्सिनाले ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने बताउनुभयो। उहाँले इटहरीलाई आधार बनाएर पूर्वी नेपालबाट देशका विभिन्न गन्तव्यसम्म भ्रमणको पहुँच विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।
नयाँ कार्यालयसँगै कम्पनीले सेवा विस्तार तथा नयाँ गन्तव्यमा थप भ्रमण प्याकेज सञ्चालन गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ।




















