भोजपुर । कक्षा ९ मा अध्ययनरत श्रद्धा राईले भोजपुरको मुन्दुम पदमार्गबारे यसअघि सुन्दै मात्र आएकी थिइन्। पर्यटकीय गन्तव्यका रूपमा चर्चामा रहेको यो पदमार्ग आफ्नै आँखाले देख्ने र त्यहाँका प्राकृतिक तथा सामाजिक पक्षलाई नजिकबाट बुझ्ने अवसर पाएपछि भने उनी उत्साहित भइन्।

मुन्दुम पदमार्गका बारेमा सुनेकी थिएँ, तर यहाँ आएर प्रत्यक्ष रूपमा हेर्न पाउँदा निकै खुशी लाग्यो,” श्रद्धाले भनिन्।

भोजपुर नगरपालिका–८ पोखरेमा सञ्चालित युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीको युनिक को–रेसिडेन्सियल छात्रावासमा बसेर अध्ययन गरिरहेका १३ जना विद्यार्थीलाई मुन्दुम पदमार्ग क्षेत्रको पदयात्रा गराइएको छ। कक्षाकोठामा सीमित सिकाइलाई व्यवहारिक अनुभवसँग जोड्ने उद्देश्यले विद्यार्थीलाई स्थानीय प्राकृतिक वातावरण, इतिहास, कला, संस्कृति तथा सामाजिक जीवनबारे प्रत्यक्ष जानकारी गराउन पदयात्रा आयोजना गरिएको विद्यालयले जनाएको छ।

पदयात्राका क्रममा विद्यार्थीले स्थानीय पुराना हिटीधारा, पाटीपौवा, सडक तथा बस्ती क्षेत्रको अवलोकन गरेका थिए। त्यसपछि भोजपुर नगरपालिका–१० बाट सुरु हुने मुन्दुम पदमार्ग क्षेत्रका विभिन्न स्थानमा पुगेर त्यहाँको प्राकृतिक तथा सांस्कृतिक अवस्थाबारे जानकारी लिएका थिए।784694486_2286591582086803_3900904030379310322_n

शिक्षक सहजकर्ता नवीन सुवेदीका अनुसार पदयात्राले विद्यार्थीलाई पाठ्यपुस्तकमा पढेका विषयलाई स्थानीय परिवेशसँग जोडेर बुझ्ने अवसर दिएको छ।

“छात्रावासमा रहेका विद्यार्थीले पदयात्राका क्रममा स्थानीय प्राकृतिक वातावरण, कला, संस्कृति, ऐतिहासिक तथा सामाजिक पक्षबारे प्रत्यक्ष रूपमा जानकारी लिने अवसर पाए। यसले उनीहरूमा थप सिकाइप्रति उत्साह बढाएको छ,” सुवेदीले भने।

विद्यार्थीका लागि यो यात्रा मनोरञ्जनमा मात्र सीमित रहेन। हिँडाइका क्रममा स्थानीय बस्ती, पुराना संरचना, प्राकृतिक वातावरण र सामाजिक जीवनशैलीबारे बुझ्ने अवसर पाएपछि उनीहरूले आफ्नो वरपरको भूगोल र सम्पदालाई नयाँ दृष्टिले हेर्न थालेका छन्।

मुन्दुम पदमार्ग पूर्वी नेपालको प्राकृतिक सौन्दर्य र किराती संस्कृति जोडिएको महत्वपूर्ण पर्यटकीय क्षेत्र हो। नेपाल पर्यटन बोर्डका अनुसार यो पदमार्ग भोजपुर, खोटाङ, सङ्खुवासभा र सोलुखुम्बु जिल्लासम्म फैलिएको छ। करिब ८० किलोमिटरको मुख्य पदमार्ग चखेवा भञ्ज्याङबाट सुरु भएर साल्पा भञ्ज्याङ, साल्पा पोखरी हुँदै सिलिचुङसम्म पुग्छ। यस क्षेत्रमा प्राकृतिक दृश्यसँगै किराती समुदायको संस्कृति, परम्परा, धार्मिक विश्वास र जीवनशैली पनि पदयात्राका महत्वपूर्ण आकर्षण हुन्।

पदयात्राका क्रममा विद्यार्थीले स्थानीय सम्पदालाई प्रत्यक्ष रूपमा नियाल्नुले पर्यटन गन्तव्यका रूपमा मुन्दुम पदमार्गको अर्को पक्षसमेत उजागर गरेको छ। विद्यार्थीलाई घुमाउने मात्र नभई स्थानीय सम्पदा र संस्कृतिको महत्व बुझाउने यस्तो अभ्यासले नयाँ पुस्तामा आफ्नो क्षेत्रप्रतिको अपनत्व बढाउन सहयोग पुग्ने देखिन्छ।

विद्यालयका लागि पनि यो कार्यक्रम कक्षाकोठाको सैद्धान्तिक शिक्षालाई व्यवहारिक सिकाइसँग जोड्ने माध्यम बनेको छ। सामूहिक पदयात्राका क्रममा विद्यार्थीले शारीरिक सक्रियतासँगै सहकार्य, आपसी सहयोग, अनुशासन र मित्रताको भावना विकास गर्ने अवसर पाएका छन्।WhatsApp-Image-2026-08-23-at-19.12.45

“हामीले किताबमा पढ्नेभन्दा प्रत्यक्ष रूपमा हेर्दा धेरै कुरा सजिलै बुझ्न सकिँदो रहेछ,” पदयात्रामा सहभागी विद्यार्थीहरूले बताए।

मुन्दुम पदमार्ग पछिल्लो समय प्राकृतिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा थप चर्चामा आउँदैछ। नेपाल पर्यटन बोर्डले समेत यस क्षेत्रको प्राकृतिक सौन्दर्य र किराती सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल भिजिट इयर २०२५’ घोषणा गरेको थियो। बोर्डका अनुसार पदमार्ग क्षेत्रमा स्थानीय संस्कृति, परम्परा, प्रकृति र समुदायमा आधारित पर्यटनलाई जोड दिइएको छ।

विद्यार्थीलाई मुन्दुम पदमार्गमा गरिएको यो पदयात्राले भने पर्यटन प्रवर्द्धनसँगै स्थानीय सम्पदा र प्रकृतिको संरक्षणबारे नयाँ पुस्तालाई प्रत्यक्ष रूपमा शिक्षित गर्ने अभ्यासको सम्भावना पनि देखाएको छ।