भोजपुर । पूर्वी पहाडको प्राकृतिक सौन्दर्य, किरात संस्कृति र ग्रामीण जीवनशैलीलाई नजिकबाट नियाल्न पाइने मुन्दुम पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। भोजपुर, खोटाङ, सङ्खुवासभा र सोलुखुम्बुको सीमाक्षेत्रमा फैलिएको यो पदमार्ग प्राकृतिक तथा सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको हो।

वसन्त ऋतु सुरु भएसँगै पदमार्ग क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेपछि मुन्दुमको आकर्षण झनै बढेको छ। रातो, गुलाबी र सेतो गुराँसले हरिया वन तथा घाँसेमैदान रंगीन बनेपछि पदयात्राका लागि पर्यटकको चहलपहल बढेको स्थानीयले बताएका छन्। पछिल्लो वसन्तमा गुराँस हेर्न आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको स्थानीय तहका प्रतिनिधिले बताएका थिए।

मुन्दुम ट्रेलमा गुराँससँगै चाप, कटुस, लोक्ता तथा विभिन्न जडीबुटीका वन, फराकिला घाँसेमैदान, चौँरी तथा भेडाका गोठले यात्रालाई थप आकर्षक बनाउँछन्। मैयुङको हाँसपोखरी आसपास विभिन्न प्रजातिका चराचुरुङ्गी तथा वन्यजन्तु अवलोकन गर्न सकिने भएकाले प्रकृतिप्रेमीका लागि पनि यो क्षेत्र आकर्षणको केन्द्र बनेको छ।

प्रकृतिसँगै किरात संस्कृति बुझ्ने अवसर

मुन्दुम पदमार्गको विशेषता प्राकृतिक दृश्यमा मात्र सीमित छैन। किरात समुदायको पवित्र मौखिक धार्मिक ग्रन्थ ‘मुन्धुम’ सँग जोडिएको यस क्षेत्रमा किराती संस्कार, संस्कृति, परम्परा र जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसर पाइन्छ।

पदमार्ग आसपासका बस्ती, गोठ, धार्मिक तथा सांस्कृतिक स्थल र स्थानीय जीवनशैलीले पर्यटकलाई फरक अनुभव दिने गरेका छन्। यही सांस्कृतिक पक्षका कारण मुन्दुमलाई सामान्य पदयात्रा गन्तव्यभन्दा प्रकृति र संस्कृतिको संगमका रूपमा लिने गरिएको छ।

साल्पा पोखरी र सिलिचुङ क्षेत्र किरात समुदायका लागि धार्मिक तथा सांस्कृतिक रूपमा समेत महत्वपूर्ण मानिन्छन्। साकेला उभौली–उधौलीलगायतका सांस्कृतिक गतिविधिले पदमार्गको मौलिक पहिचानलाई थप बलियो बनाएका छन्।

टेम्केदेखि सिलिचुङसम्मको यात्रा

मुन्दुम पदमार्ग खोटाङ र भोजपुरको सीमामा पर्ने ३ हजार १६५ मिटर उचाइको टेम्केडाँडा हुँदै मैयुङ, ३ हजार ७५० मिटरको साल्पापोखरी र ४ हजार १६५ मिटर उचाइको सिलिचुङसम्म पुग्छ।

पहाडका चुचुरामै निर्माण गरिएको पदमार्ग पूरा गर्न नेपाली पर्यटकलाई करिब १० दिन र विदेशी पर्यटकलाई करिब १३ दिन लाग्ने गरेको मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताएका छन्। पदमार्गबाट पूर्वी हिमशृङ्खलाका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। उच्च पहाडी भूगोल, हिमाल, घाँसेमैदान, वनजङ्गल र स्थानीय बस्तीको संयोजनले मुन्दुमलाई अन्य पदमार्गभन्दा फरक बनाएको छ।Screenshot 2026-08-20 080336

गोठ–स्टेले थप्दैछ नयाँ अनुभव

मुन्दुम क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै स्थानीयले परम्परागत गोठलाई स्तरोन्नति गरी ‘गोठ–स्टे’ सञ्चालन गर्न थालेका छन्। गोठमै बस्ने र स्थानीय परिकार खाने अवसरले पर्यटकलाई ग्रामीण जीवनशैलीसँग प्रत्यक्ष जोड्ने गरेको छ।

गोठ–स्टेमा चौँरीको दूध, फापर, कोदो तथा गहुँको ढिँडो, स्थानीय कुखुरा, रायोको साग, आलु, सिमी लगायतका स्थानीय उत्पादनबाट तयार गरिएका परिकार उपलब्ध गराउने गरिएको छ। यसबाट पर्यटकलाई मौलिक अनुभवसँगै स्थानीय समुदायको आयआर्जनमा समेत सहयोग पुग्ने देखिएको छ। ठूला घाँसेमैदान, चौँरीखर्क र भेडीगोठसँगै घोडचढीको अनुभव लिन पाउनु पनि मुन्दुमको अर्को आकर्षण बनेको छ।

पर्यटनसँगै स्थानीय अर्थतन्त्रको सम्भावना

मुन्दुम पदमार्गमा पर्यटकको आकर्षण बढेसँगै स्थानीयस्तरमा पर्यटन पूर्वाधार र सेवा विस्तारको सम्भावना पनि बढेको छ। होमस्टे, गोठ–स्टे, स्थानीय गाइड, घोडचढी, स्थानीय खाना तथा कृषि उत्पादनमार्फत पर्यटनबाट हुने आम्दानी गाउँमै राख्न सकिने अवस्था सिर्जना हुँदै गएको छ।

पदमार्गलाई थप व्यवस्थित बनाउन स्थानीय तहहरूले पूर्वाधार निर्माण र प्रवर्द्धनका काम अघि बढाइरहेका छन्। पछिल्लो समय ८८‘ग्रेटर मुन्दुम पदमार्ग’८८को अवधारणासमेत अघि बढ्दै गएको छ, जसले मुन्दुमलाई एउटै रुटमा सीमित नराखी पूर्वी पहाडका विभिन्न स्थानीय तह र पर्यटकीय क्षेत्रसँग जोड्ने लक्ष्य राखेको छ।

सरकारले समेत मुन्दुमलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै आएको छ। २०२५ मा ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’मार्फत यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिएको थियो। त्यस अभियानपछि पनि मुन्दुममा पर्यटकको आकर्षण कायम रहनु यस क्षेत्रका लागि सकारात्मक संकेतका रूपमा देखिएको छ।

दिगो पर्यटन विकास मुख्य चुनौती

प्राकृतिक र सांस्कृतिक रूपमा समृद्ध भए पनि मुन्दुम पदमार्गमा अझै पूर्वाधार विकास, नियमित यातायात पहुँच, आवास, खानेपानी, सूचना तथा उद्धार सेवाजस्ता पक्षमा थप काम आवश्यक देखिन्छ।

पर्यटकको संख्या बढेसँगै वातावरणीय तथा सांस्कृतिक संरक्षणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने चुनौती छ। स्थानीय संस्कृति र परम्पराको सम्मान, फोहोर व्यवस्थापन, जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायको प्रत्यक्ष सहभागितालाई प्राथमिकता दिन सके मुन्दुमलाई समुदायमा आधारित र दिगो पर्यटनको नमुना बनाउन सकिने सम्भावना छ।

प्रकृति, हिमाल, गुराँस, चौँरीखर्क, गोठ–स्टे र किरात संस्कृतिको एउटै अनुभव लिन सकिने भएकाले मुन्दुम पदमार्ग पूर्वी नेपालको पर्यटन नक्सामा आफ्नो छुट्टै पहिचान बनाउँदै गएको छ। बढ्दो पर्यटकीय आकर्षणलाई स्थानीय रोजगारी र आयआर्जनसँग जोड्न सके यसले पूर्वी पहाडको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने देखिन्छ।