झापा । भारतसँग जोडिएको नेपालको प्रमुख पूर्वी स्थल नाका काँकडभिट्टाबाटै विदेशी पर्यटकलाई नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय स्वागत संरचना निर्माण सुरु गरिएको छ। नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्दै पूर्वी नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पर्यटन कार्यालय काँकडभिट्टा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको सहकार्यमा परियोजना अघि बढाइएको हो।

पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार परियोजनाको प्रारम्भिक चरणका लागि मेचीनगर नगरपालिकाले दुई लाख रुपैयाँ उपलब्ध गराएको छ भने आवश्यक थप बजेट पर्यटन कार्यालयले व्यवस्थापन गरिसकेको छ। चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।

करिब २०० मिटर क्षेत्रमा निर्माण हुने स्वागत संरचनामा नेपालको राष्ट्रिय पहिचान र मौलिक संस्कृति झल्किने विभिन्न आकर्षण समेटिनेछन्। त्यहाँ ३२ वटा नेपाली झण्डा, पर्यटकका लागि आकर्षक ‘सेल्फी बुथ’ तथा रातको समयमा आकर्षण बढाउने डिजिटल लाइटिङको व्यवस्था गरिनेछ। निर्माणका लागि हाल रहेका ठूला विज्ञापन बोर्ड अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ।

प्रमुख खतिवडाका अनुसार संरचना निर्माणपछि नेपाल प्रवेश गर्ने पर्यटक केही समय सीमा क्षेत्रमा नै रोकिने, तस्बिर खिच्ने, स्थानीय सेवा उपयोग गर्ने र त्यसबाट स्थानीय व्यवसाय तथा अर्थतन्त्रलाई समेत प्रत्यक्ष टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, नेपाल प्रवेश गर्ने पर्यटकमा सकारात्मक पहिलो प्रभाव सिर्जना गर्दै पूर्वी नाकाको पर्यटन आकर्षण थप बढ्ने विश्वास गरिएको छ।

निर्माणस्थलको नेतृत्व गरिरहेका स्थानीय पर्यटन व्यवसायी रामबहादुर तामाङले काँकडभिट्टामा यस्तो स्वागत संरचना लामो समयदेखिको आवश्यकता रहेको बताए। स्थानीय समुदायको आर्थिक सहयोग र श्रमदानसमेत रहेकाले परियोजनाप्रति अपनत्व बढ्ने र यसको दिगोपना सुनिश्चित हुने उनको विश्वास छ। उनका अनुसार संरचना निर्माण सम्पन्न भएपछि काँकडभिट्टा प्रवेश गर्नेबित्तिकै पर्यटकले नेपालको मौलिक पहिचान र आतिथ्यको अनुभूति गर्नेछन्।

यससँगै पर्यटन कार्यालयले झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई कार्यक्षेत्र बनाएर सीमा पर्यटन, पर्यापर्यटन, फोटो प्रदर्शनी, होमस्टे प्रवर्द्धन तथा होटल र ट्राभल एजेन्सीहरूको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

पूर्वी नाका हुँदै हरेक वर्ष हजारौँ विदेशी पर्यटक नेपाल प्रवेश गर्ने गरेका छन्। पर्यटन व्यवसायीहरूका अनुसार निर्माणाधीन स्वागत संरचनाले काँकडभिट्टाको स्वरूप परिवर्तन गर्नुका साथै पूर्वी नेपालको पर्यटन ब्रान्डिङ र पर्यटक आकर्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।