att.set2bYpbazVP8t70DaFBauIDoEajoMKygqAwbvJ_Hzsatt.NQw4C2pio8M437me9pJjfRgRac2BIiL0S264oJ_M5acatt.DjIeyngfswHwsYplkUAqplv0JQLldft40shTuSRGhJA

इटहरी । बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको ‘द लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२६’ को ग्रान्ड फिनाले इटहरीमा उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको छ।

सन् २००२ देखि बालबालिकासम्बन्धी सौन्दर्य तथा प्रतिभा प्रतियोगितामा सक्रिय ग्ल्यामरस नेपालको आयोजनामा साउन ३० गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न फिनालेमा विभिन्न विधाका बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। साँझ ४ बजेदेखि सुरु भएको कार्यक्रम राति ९ बजे विजेताको घोषणा तथा ताज पहिराएसँगै सम्पन्न भएको हो।

प्रतियोगिताको प्रिन्सेस सिनियरतर्फ युमी राईले मुख्य उपाधि जित्दा प्रजिता राउत फर्स्ट रनरअप र ऐश्वर्य बस्नेत सेकेन्ड रनरअप बने। सोही उमेर समूहको प्रिन्स सिनियरतर्फ सेसेहाङ लिम्बु विजेता घोषित भए।

त्यस्तै, प्रिन्सेस जुनियरको उपाधि इङ्लाम राईले जितिन्। जियाना पौडेल फर्स्ट रनरअप र सामिया बिष्ट सेकेन्ड रनरअप घोषित भए। प्रिन्स जुनियरतर्फ प्रसुन चौधरीले ताज पहिरिँदा आर्यन चौधरी फर्स्ट रनरअप बने।

सबैभन्दा कम उमेर समूहको प्रि जुनियरतर्फ आरुन्या कार्की सर्वोत्कृष्ट घोषित हुँदै विजेता बनिन्। प्रदिती मगर फर्स्ट रनरअप र डेनिशा अधिकारी सेकेन्ड रनरअप घोषित भए।

प्रतियोगितामा बालबालिकाको प्रतिभा र प्रस्तुतिको मूल्याङ्कन गर्न मिसेस पूर्वेली आइकन २०२५ की विजेता मेघा खड्का, तरहरा जेसिजका पूर्व अध्यक्ष तथा पर्सनालिटी डेभलपमेन्ट ट्रेनर सुनिल तिम्सिना र नेशनल व्युटिसियन युनियन अफ नेपालकी अध्यक्ष तथा इटहरी लेडी जेसीजकी सचिव पूजा भट्टराई निर्णायकका रूपमा सहभागी थिए।

मुख्य उपाधिसँगै प्रतियोगितामा विभिन्न विधाका आकर्षक सब–टाइटल पनि प्रदान गरियो। बेस्ट ड्रेसको अवार्ड प्रसुन चौधरी र इङ्लाम राईले प्राप्त गरे भने अडियन्स च्वाइस अवार्ड युमी राई, जियाना पौडेल र आरुन्या कार्कीले हात पारे।

प्रिन्सेस सिनियरतर्फ ऐश्वर्य बस्नेतले बेस्ट ट्यालेन्ट, प्रजिता राउतले ब्युटिफुल हेयर र युमी राईले ब्युटिफुल वाकको अवार्ड जिते। प्रिन्सेस जुनियरतर्फ स्तुति रेग्मीले मस्ट कन्फिडेन्ट, जियाना राईले मोस्ट ब्युटिफुल, सुभानी श्रेष्ठले बेस्ट ट्यालेन्ट र अमी राईले मोस्ट डिसिप्लेनको उपाधि पाए।

यसैगरी, इङ्लाम राईले ब्युटिफुल पर्सनालिटी, परिधि लिम्बुले बेस्ट प्रफरमेन्स, शाम्य बिष्टले मोस्ट इन्टेलिजेन्ट र स्यारोन राईले ब्युटिफुल फोटोजेनिकको अवार्ड प्राप्त गरे।

बालकहरूको विधामा सेसेहाङ लिम्बुले प्रिन्स सिनियरतर्फ बेस्ट ट्यालेन्टको अवार्ड जिते। प्रिन्स जुनियरतर्फ परसुराम चौधरीले बेस्ट ट्यालेन्ट र आर्यन चौधरीले मोस्ट डिसिप्लेनको अवार्ड प्राप्त गरे।

प्रि जुनियरतर्फ पनि विभिन्न प्रतिभालाई सम्मान गरिएको थियो। आरुषी कार्की मोस्ट क्युट, आरुही कार्की ब्युटिफुल स्माइल, डेनिशा अधिकारी बेस्ट कन्फिडेन्ट र शिराचना तुम्सा लिटिल कन्जिनियालिटी घोषित भए। त्यस्तै आरुन्या कार्कीले बेस्ट ट्यालेन्ट, प्रदिती मगरले मोस्ट ब्युटिफुल र बिद्या बिकले बेस्ट चार्मिंगको अवार्ड हात पारे।

आयोजक ग्ल्यामरस नेपालका अनुसार प्रतियोगिताको उद्देश्य बालबालिकालाई केवल सौन्दर्यको मापदण्डमा सीमित राख्नु नभई उनीहरूभित्र रहेको प्रतिभा उजागर गर्ने, आत्मविश्वास बढाउने र व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने रहेको छ। ग्रान्ड फिनालेमा बालबालिकाको प्रस्तुति, अभिभावकको उत्साह र दर्शकको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

ग्ल्यामरस नेपालले आगामी दिनमा पनि बालबालिकाको सिर्जनशीलता, प्रतिभा र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।