images-3इटहरी । नेपाली फिल्ममा एक्सनप्रधान कथाको नयाँ स्वाद प्रस्तुत गर्ने तयारीमा रहेको फिल्म ‘एक्का तीन : च्याप्टर–१’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। जुना फिल्म्सको निर्माणमा बन्न लागेको फिल्मको पोस्टरले दुई महिला पात्रबीचको आक्रामक भिडन्तलाई केन्द्रमा राखेपछि फिल्मप्रति दर्शकको चासो बढेको छ।

पोस्टरमा अभिनेत्री पूजा शर्मा र मोडल तथा अभिनेत्री कविता नेपालीलाई आमनेसामने प्रस्तुत गरिएको छ। दुवैको अनुहारमा चोटका दाग र रगत देखिन्छ भने उनीहरूको आक्रामक हाउभाउले फिल्ममा हुने संघर्षको संकेत गर्छ।

फिल्मको पोस्टर डिजाइनमा दुवै कलाकारलाई युद्ध शैलीको पहिरनमा देखाइएको छ। पूजा कालो ‘रोलिङ स्टोन’ लेखिएको टी–सर्ट र मिलिटरी प्यान्टमा प्रस्तुत छिन् भने कविता कालो क्रप टप र मिलिटरी प्यान्टमा देखिन्छिन्। उनको कम्मरमा देखाइएको बन्दुकको होलस्टरले फिल्म एक्सनप्रधान हुने संकेत थप बलियो बनाएको छ।

बिजुली चम्किरहेको आकाश तथा खिया लागेको वातावरणलाई पृष्ठभूमिमा प्रयोग गरिएको पोस्टरले फिल्मको कथालाई केही हदसम्म रहस्यमय बनाएको छ। पोस्टरमा २०२७ लाई प्रदर्शन वर्षका रूपमा उल्लेख गरिएको छ।

सुमन गजमेरको लेखन तथा रुपेश तामाङको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण रामकृष्ण खरेल र अनुप गडालले गर्नेछन्। निर्माण पक्षका अनुसार फिल्म पूर्ण रूपमा एक्सन जनरामा आधारित हुनेछ र दुई शक्तिशाली महिला पात्रबीचको टकराव कथाको प्रमुख आधार बन्नेछ।

पूजा शर्माको स्थापित अभिनय अनुभव र कविता नेपालीको ऊर्जावान प्रस्तुतिलाई एउटै पर्दामा एक्सन अवतारमा हेर्न पाउनु फिल्मको प्रमुख आकर्षण बन्ने देखिएको छ। विशेषगरी दुवै कलाकारलाई यसअघि भन्दा फरक र आक्रामक भूमिकामा प्रस्तुत गरिएको फस्टलुकले उनीहरूको चरित्रलाई लिएर दर्शकमाझ कौतूहल सिर्जना गरेको छ।

निर्माण युनिटका अनुसार ‘एक्का तीन : च्याप्टर–१’ को छायांकन भदौको तेस्रो साताबाट सुरु हुनेछ। पोस्टर सार्वजनिक भएसँगै फिल्मको कथा, पात्र र दुई नायिकाबीचको सम्बन्धबारे दर्शकमा विभिन्न अनुमान सुरु भएका छन्।

२०२७ लाई प्रदर्शन वर्ष तोकिएको यो फिल्मले नेपाली सिनेमामा महिला पात्रलाई केन्द्रमा राखेर एक्सन प्रस्तुत गर्ने नयाँ प्रयास गर्ने निर्माण पक्षको दाबी छ।