images 1इटहरी । नेपाली फिल्मप्रेमीमाझ प्रतीक्षामा रहेको क्राइम थ्रिलर फिल्म ‘मास्टर्नी’ प्रदर्शनको तयारीमा पुगेको छ। भदौ ५ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने फिल्मको अग्रिम टिकट बुकिङ रिलिजको तीन दिनअघि नै खुला गरिएको हो।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससहित प्रमुख मल्टिप्लेक्सहरूले फिल्मका शो सार्वजनिक गर्दै अग्रिम टिकट बिक्री सुरु गरेका छन्। वितरक रोहित कट्टेलका अनुसार दर्शकको माग र हलहरूको उपलब्धताका आधारमा फिल्मका शो संख्या अझै थपिन सक्नेछ।

क्राइम थ्रिलर विधामा निर्माण भएकाले ‘मास्टर्नी’लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘ए’ श्रेणीमा वर्गीकरण गरेको छ। त्यसकारण फिल्म १६ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन्।

सुवेन्दु घोषको निर्देशनमा बनेको फिल्ममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको ठूलो समूहलाई एकसाथ प्रस्तुत गरिएको छ। फिल्ममा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुप विक्रम शाही, ऋचा शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, दिनेश काफ्ले र रक्षा थापालगायतको अभिनय रहेको छ।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी रहेको छ। फिल्मको कथा प्रियंका कार्कीले तयार पारेकी हुन् भने पटकथा शान बस्नेतले लेखेका छन्। संवाद भने प्रियंका कार्की र शान बस्नेतले संयुक्त रूपमा तयार गरेका हुन्।

फिल्मको संगीततर्फ रोहित शाक्य र त्रिशला गुरुङको योगदान रहेको छ। फिल्मको वितरण जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

रिलिजअघि नै अग्रिम बुकिङ खुलिसकेकाले ‘मास्टर्नी’ले सुरुवाती दिनमा दर्शकको कस्तो साथ पाउने हो भन्नेमा अहिले फिल्म क्षेत्रको ध्यान केन्द्रित भएको छ। चर्चित कलाकारको ठूलो टोली, क्राइम थ्रिलरको कथावस्तु र ‘ए’ श्रेणीको प्रमाणपत्रका कारण फिल्मप्रति दर्शकको चासो बढेको निर्माण तथा वितरण पक्षको अपेक्षा छ।