इलाम । निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा पनि दमक–चिसोपानी सडकले पूर्णता पाउन सकेको छैन । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने ३३ किलोमिटर लामो फाल्गुनन्द मार्गमा अहिलेसम्म करिब साढे पाँच किलोमिटर मात्रै कालोपत्र भएको छ । बाँकी सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा स्थानीयदेखि यात्रुसम्मले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

झापाको दमकस्थित जिरो प्वाइन्टदेखि पाँचथरको चिसोपानी पञ्चमीसम्मको यो सडक २०४९ सालमा निर्माण सुरु गरिएको थियो । तर, साढे तीन दशकभन्दा लामो समय बितिसक्दा पनि करिब २६ किलोमिटर सडक कालोपत्र हुन सकेको छैन । अहिले वर्षाका कारण सडकका विभिन्न भागमा खाल्डाखुल्डी र पानी जम्दा यात्रा झनै जोखिमपूर्ण बनेको छ ।

सडकको दुरवस्थाका कारण स्थानीयको दैनिक आवतजावतसँगै कृषि उत्पादन तथा दैनिक उपभोग्य सामग्रीको ओसारपसारमा समेत समस्या हुँदै आएको छ । दमक हुँदै इलामका माङसेबुङ, फाकफोकथुम र देउमाई तथा पाँचथरका मिक्लाजुङ, फाल्गुनन्द, तम्बेवा र कुम्मायक क्षेत्रका हजारौँ नागरिक यस सडकबाट प्रत्यक्ष प्रभावित छन् ।

माङसेबुङ–३ का निवर्तमान वडाध्यक्ष मैतराज राईका अनुसार बर्खामा सडक हिलाम्मे हुँदा मोटरसाइकलसमेत चलाउन कठिन हुन्छ भने हिउँदमा धुलोको समस्या उत्तिकै पीडादायी छ । सडक किनारका बासिन्दाले घर तथा पसलमा धुलो पस्ने समस्या खेप्दै आएका छन् ।

“जेठदेखि भदौसम्म मोटरसाइकल समेत कुदाउन नसकिने गरी सडक हिलाम्मे हुन्छ, कात्तिकदेखि वैशाखसम्म घरै ढाक्नेगरी आउने धुलोको मुस्लोले हैरान बनाउँछ,” राईले भने ।

पाँचथरको कुम्मायक गाउँपालिका–५ यासोकका चिरञ्जीवी घिमिरेका अनुसार दमकबाट कुम्मायक पुग्ने छोटो दूरीको मार्ग भए पनि बर्खामा यात्रा निकै कष्टकर हुन्छ । यातायात व्यवसायी सुरेश योङहाङले पनि सडकको खराब अवस्थाका कारण बर्खामा सवारी सञ्चालन गर्दा आम्दानीभन्दा खर्च बढी हुने गरेको बताए ।

आठ वर्षमा पनि सकिएन पहिलो खण्ड

सडकको पहिलो खण्डअन्तर्गत दमकको जिरो प्वाइन्टदेखि माङसेबुङ–४ मार्चेबुङसम्म ६ दशमलव २९ किलोमिटर कालोपत्र गर्ने ठेक्का २०७५ साउन २९ गते महालक्ष्मी–किरातेश्वर जेभीले पाएको थियो । ३० महिनामा काम सक्ने गरी २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा सम्झौता भए पनि आठ वर्ष पुग्दा साढे पाँच किलोमिटर मात्रै कालोपत्र भएको छ ।

चौथोपटकसम्म म्याद थप्दा पनि काम पूरा नभएपछि अहिले ठेकेदार कम्पनी दैनिक जरिवानामा काम गरिरहेको सडक डिभिजन दमकका प्रमुख इन्जिनियर श्यामकुमार यादवले बताए ।

उनका अनुसार करिब एक किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । अन्तिमपटक थपिएको म्याद २०८० असारमै सकिएको भए पनि कार्यालयले ठेकेदारलाई काम पूरा गर्न ताकेता गरिरहेको छ ।

दोस्रो र तेस्रो खण्डको काम ठप्प

सडकको दोस्रो र तेस्रो खण्डमा भने करिब साढे दुई वर्षदेखि काम रोकिएको छ । दोस्रो खण्डको १५ किलोमिटर र तेस्रो खण्डको ११ किलोमिटर सडक चौडा तथा कालोपत्र गर्ने जिम्मा लुम्बिनी–गणपति जेभीले पाएको थियो ।

२०७६ फागुन २ गते तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएका दुवै खण्डको म्याद २०७९ फागुनमा सकिएको थियो । पछि २०८० पुस मसान्तसम्म म्याद थपिए पनि दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा करिब २८ प्रतिशत काम भएपछि ठेकेदार कम्पनीले काम छाडेको थियो ।

काम अलपत्र पारेपछि सरकारले २०८० चैत १३ गते लुम्बिनी–गणपति जेभीसँगको ठेक्का रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरेको थियो । त्यसविरुद्ध ठेकेदार कम्पनीले उच्च अदालत पाटनमा रिट दायर गरे पनि अदालतले खारेज गरिदिएको थियो । जिल्ला अदालत झापामा परेको अर्को मुद्दामा भने मध्यस्थतामार्फत विवाद समाधान गर्न आदेश भएको सडक डिभिजनले जनाएको छ ।

२६ किलोमिटरका लागि नयाँ ठेक्का

पुरानो ठेक्का प्रक्रिया टुंगिएपछि सरकारले दमक–चिसोपानी सडकको बाँकी २६ किलोमिटर कालोपत्रका लागि गत असार ५ गते नयाँ ठेक्का आह्वान गरेको छ । सडक डिभिजन दमकका प्रमुख इन्जिनियर यादवका अनुसार १९ वटा निर्माण कम्पनीले प्रस्ताव पेस गरेका छन् ।

हाल प्राविधिक प्रस्तावको मूल्याङ्कन भइरहेको र त्यसपछि आर्थिक प्रस्ताव खोलिने उनले बताए । ठेक्का प्रक्रिया पूरा भएपछि चालु आर्थिक वर्ष २०८३र८४ बाटै निर्माण अघि बढाउने तयारी छ ।

बाँकी सडक कालोपत्रका लागि संघीय सरकारले एक अर्ब ६४ करोड रुपैयाँको स्रोत सहमति दिएको छ भने चालु आर्थिक वर्षका लागि १२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

पालिकाले थाले सडक मर्मत

मुख्य सडक निर्माण अलपत्र रहेपछि तत्काल यात्रामा सहजता ल्याउन इलामका माङसेबुङ र फाकफोकथुम तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकाले संयुक्त रूपमा सडक मर्मतसम्भार थालेका छन् ।

माङसेबुङले १५ लाख, फाकफोकथुमले सात लाख र मिक्लाजुङले आठ लाख रुपैयाँ साझेदारी गरी कुल ३० लाख रुपैयाँमा सडक मर्मतको काम अघि बढाएका हुन् । अहिले बढी समस्याग्रस्त माङसेबुङ–३ भञ्ज्याङदेखि माङसेबुङ–२ को माङबालुङ ९रक्से० बजारसम्म खाल्डाखुल्डी पुर्ने र ग्राभेल गर्ने काम भइरहेको छ ।

यसैबीच, वर्षाका कारण सडक थप क्षतिग्रस्त भएपछि माङसेबुङ गाउँपालिकाले मङ्गलबारदेखि गाउँपालिका क्षेत्रभित्र ट्रक, टिप्पर, ट्रेलर, लोबेडलगायत हेभी मालवाहक सवारीसाधन सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाएको छ । अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीलाई भने रोक नलगाइएको गाउँपालिकाले जनाएको छ ।

पर्यटन र व्यापारमा पनि असर

दमक–चिसोपानी सडकले इलाम र पाँचथरका विभिन्न धार्मिक तथा पर्यटकीयस्थललाई तराईसँग जोड्छ । तीनथुम्बे, माङमालुङ, गजुरमुखी धाम, सहिद रत्नकुमार वान्तवा सहादतस्थल आँपडाँडा तथा किरात धर्मावलम्बीको आस्थाको केन्द्र लारुम्बालगायत क्षेत्रमा पुग्ने पर्यटकले समेत सडकको अवस्थाका कारण कठिनाइ भोग्दै आएका छन् ।

स्थानीयका अनुसार सडक निर्माण पूरा भएमा झापा–इलाम–पाँचथरको आवागमन सहज हुनुका साथै कृषि उत्पादनको बजारीकरण, व्यापार, पर्यटन र समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्नेछ । तीन दशकभन्दा लामो प्रतीक्षापछि फेरि सुरु भएको नयाँ ठेक्का प्रक्रियाले भने स्थानीयमा सडक बन्ने आशा जगाएको छ ।