att.RIleM1vSkWAvIkmDZLSpHZh7GcQC1LQtw3ypNPQl6Ggइटहरी । कोशी प्रदेशमा पहिलोपटक आयोजना भइरहेको सौन्दर्यकर्मी महिलामै केन्द्रित प्रतियोगिता ‘द फेस अफ ब्युटिसियन’ को पहिलो संस्करणअन्तर्गत दोस्रो अडिसन इटहरीमा सम्पन्न भएको छ। सोमबार भदौ १ गते इटहरीको आइतबारेस्थित आरोमा बाई ओसियन रेस्टुरेन्टमा आयोजित अडिसनमा विभिन्न क्षेत्रबाट आएका १५ जना ब्युटिसियन महिलाले सहभागिता जनाएका थिए।

सौन्दर्य पेसामा आबद्ध महिलाको प्रतिभा, दक्षता र आत्मविश्वासलाई थप निखार्दै उनीहरूलाई व्यावसायिक रूपमा अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। आयोजक कुजु मोटर्स तथा प्रस्तुतकर्ता सुजुकी मोटरसाइकल इटहरीको सहकार्यमा भइरहेको प्रतियोगिताले उमेर तथा वैवाहिक अवस्थालाई प्रतिस्पर्धाको बाधक नबनाई समान अवसरको अवधारणा अघि सारेको छ।

इटहरीसँगै दुहबी, भोजपुरलगायत क्षेत्रका ब्युटिसियन महिलाहरू अडिसनमा सहभागी भएका थिए। सहभागीहरूको प्रतिभा, प्रस्तुति र क्षमता मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरू सम्मिलित निर्णायक मण्डल चयन गरिएको थियो। निर्णायकमा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका महासचिव तथा मिस्टर भ्याली २००७ का सेकेन्ड रनरअप दिनेश कोइराला, ममता किन्डरगार्टेनकी संस्थापक/निर्देशक विनिता ढकाल तथा समाजसेवी, ब्युटी ट्रेनर एवं न्यु सुमिना ब्युटी सैलुनकी सञ्चालिका मीना श्रेष्ठ राई रहेका थिए।

प्रतियोगिताकी निर्देशक उर्मी मगरका अनुसार दोस्रो चरणको अडिसन पूरा भएसँगै छनोट भएका प्रतिस्पर्धीलाई लक्षित गरी केही दिनमै प्रशिक्षण कार्यक्रम सुरु गरिनेछ। उनका अनुसार प्रतियोगितालाई केवल ताज जित्ने प्रतिस्पर्धाका रूपमा नभई ब्युटिसियन महिलाको सीप, व्यवसायिक क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने प्लेटफर्मका रूपमा विकास गरिएको छ।

छनोट भएका प्रतिस्पर्धीले सौन्दर्य विज्ञबाट एश कलर मास्टरक्लास, वाटरप्रुफ मेकअप र मास्टर हेयरकट सम्बन्धी प्रत्यक्ष प्रशिक्षण पाउनेछन्। त्यस्तै, सैलुन व्यवसाय विस्तारका लागि क्लाइन्ट म्यानेजमेन्ट, मार्केटिङ तथा बिजनेस ग्रोथ क्लास समेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत प्रोफेसनल ग्रुमिङ, पोर्टफोलियो फोटोसुट, मेन्टरसिप र सोसल मिडिया एक्सपोजरका अवसरसँगै प्रमाणपत्र तथा आत्मविश्वास अभिवृद्धिका लागि हाइकिङ र टिम बिल्डिङजस्ता गतिविधि पनि समावेश गरिनेछ।

प्रतियोगिताको विजेताले आकर्षक ताज र ट्रफीसहित एक लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। विजेताका लागि मिडिया कभरेज, प्रोफेसनल फोटोसुट तथा प्रतिष्ठित ब्रान्डहरूसँग सहकार्य गर्ने अवसरसमेत उपलब्ध गराइनेछ।

आयोजकका अनुसार ‘द फेस अफ ब्युटिसियन’ सौन्दर्यकर्मी महिलालाई आफ्नो सीप र प्रतिभा प्रदर्शन गर्ने अवसर मात्र नभई सौन्दर्य व्यवसायमा दीर्घकालीन पहिचान बनाउन सहयोग गर्ने व्यावसायिक मञ्चका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।