
इटहरी । निर्माणाधीन नेपाली चलचित्र ‘द राइज अफ साम्राज्य’ (The Rise of Saamrajya) मा अभिनेता विजय बराल पनि औपचारिक रूपमा अनुबन्धित भएका छन्। चलचित्रमा विजयको प्रवेशसँगै यसको कलाकार टोली थप बलियो र आकर्षक बनेको छ।
डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा यसअघि नै अभिनेता दयाहाङ राई, सौगात मल्ल र नाजिर हुसेन आबद्ध भइसकेका छन्। अब विजय बराल पनि कलाकार टोलीमा जोडिएपछि चलचित्रप्रति दर्शकको चासो अझ बढ्ने निर्माण पक्षको विश्वास छ।
विजय बराल नेपाली चलचित्र क्षेत्रमा फरक शैलीको अभिनय र प्रभावशाली प्रस्तुतिका लागि परिचित छन्। उनले निर्वाह गरेका विविध चरित्रले दर्शकमाझ छुट्टै पहिचान बनाएका छन्। ‘द राइज अफ साम्राज्य’मा उनको भूमिका कस्तो हुनेछ भन्ने विषयमा भने निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
चलचित्रको निर्माण कम्पनी डार्क हर्स इन्टरटेन्मेन्टले चर्चित कलाकारहरूलाई क्रमशः अनुबन्धित गर्दै चलचित्रको कलाकार टोली सार्वजनिक गरिरहेको छ। यसअघि नाजिर हुसेनलाई विशेष पोस्टरमार्फत चलचित्रमा स्वागत गरिएको थियो।
चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव रहेका छन्। सह–निर्मातामा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डेय रहेका छन्। चलचित्रको डीओपी मन कृष्ण महर्जन, एक्सन निर्देशक श्री श्रेष्ठ तथा मिडिया को–अर्डिनेटर सुरक्षा भट्टराई रहेका छन्।
निर्माण पक्षका अनुसार चलचित्रका अन्य कलाकार, कथावस्तु, छायांकन तथा प्रदर्शन मितिसहितका थप जानकारी क्रमशः सार्वजनिक गरिँदै जानेछ। दयाहाङ राई, सौगात मल्ल, नाजिर हुसेन र विजय बरालजस्ता चर्चित कलाकारको सहभागिताले ‘द राइज अफ साम्राज्य’लाई प्रतीक्षित नेपाली चलचित्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।




















