भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु. १० करोड लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। कृषकलाई बजारसँग प्रत्यक्ष जोड्ने, कृषि उत्पादनको उचित व्यवस्थापन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो।
भारत सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त परियोजनाको कुल लागत रु. ९ करोड ८८ लाख ६७ हजार ७८५ रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार परियोजनाको ९५ प्रतिशत लागत भारतीय दूतावासमार्फत व्यहोर्नेछ भने बाँकी पाँच प्रतिशत तथा भ्याट रकम गाउँपालिकाले बेहोर्नेछ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज संकलन स्थल, ग्रेडिङ (वर्गीकरण) तथा प्राथमिक प्रशोधन सुविधा रहनेछन्। यसबाट विशेषगरी तरकारी, फलफूललगायत स्थानीय कृषि उत्पादनको संकलन, संरक्षण र बिक्री वितरण थप सहज हुने अपेक्षा गरिएको छ।
हाल उचित बजार अभावका कारण कृषकले उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको अवस्थामा केन्द्र सञ्चालनमा आएपछि उत्पादनको उचित मूल्य प्राप्त हुने विश्वास गाउँपालिकाले लिएको छ। साथै, गुणस्तरीय उत्पादनलाई बाह्य बजारसम्म सहज रूपमा पुर्याउन पनि सहयोग पुग्ने बताइएको छ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लामो समयदेखिको पहल, समन्वय र प्रयासपछि योजना कार्यान्वयनको चरणमा पुगेको बताउँदै यसलाई गाउँपालिकाको गौरवको आयोजनाका रूपमा लिइएको जानकारी दिनुभयो।
उहाँका अनुसार केन्द्र निर्माणपछि कृषकले आफ्ना उत्पादन सहज रूपमा बजारसम्म पुर्याउन सक्नेछन्। यससँगै स्थानीय रोजगारी सिर्जना, युवालाई उद्यमशीलतामा आकर्षित गर्ने, कृषि क्षेत्रमा व्यावसायिकता विस्तार गर्ने र आधुनिक प्रविधिको प्रयोग बढाउने लक्ष्यसमेत रहेको छ।
परियोजना कार्यान्वयनसँगै टेम्केमैयुङ क्षेत्रमा पूर्वाधार विकास, व्यापारिक गतिविधिको विस्तार तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै निर्माण सम्झौता सम्पन्न गरी काम सुरु गर्ने लक्ष्य राखेको छ।
समयमै निर्माण सम्पन्न भएमा टेम्केमैयुङ कृषि उत्पादन, भण्डारण र बजारीकरणको प्रमुख केन्द्रका रूपमा स्थापित हुने विश्वास गरिएको छ। साथै, बसाइँसराइ न्यूनीकरण, कृषिमा आधारित उद्यम विकास तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने दीर्घकालीन लक्ष्यसमेत यस परियोजनाले पूरा गर्ने अपेक्षा गरिएको छ।




















