इटहरी । अस्पतालमा उपचाररत बिरामीका लागि एक पिन्ट रगत जीवन बचाउने आधार बन्न सक्छ । यही मानवीय आवश्यकतालाई केन्द्रमा राख्दै इटहरी र तरहरामा रक्तदानसँगै मानसिक स्वास्थ्य तथा सकारात्मक सोच प्रवर्द्धन गर्ने उद्देश्यले विशेष अभियान सञ्चालन हुने भएको छ ।
ब्रह्माकुमारीको समाज सेवा प्रभागले राजयोगिनी दादी प्रकाशमणिज्यूको १९औँ पुण्यतिथिको अवसर पारेर ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ सञ्चालन गर्न लागेको हो । अभियानअन्तर्गत भदौ ६ गते शनिबार इटहरी केन्द्र र भदौ ७ गते आइतबार तरहरा केन्द्रमा बिहान ८ बजेदेखि बृहत् रक्तदान कार्यक्रम हुनेछ ।
आयोजकका अनुसार नेपाल, भारत, भुटानलगायत विभिन्न देशमा रहेका ब्रह्माकुमारी केन्द्रहरूमा समेत एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ । इटहरीको कार्यक्रम पूर्वेली क्लबको सहआयोजनामा हुनेछ ।
‘एक पिन्ट रगत’सँगै सकारात्मक सोचको अभियान
यसपटकको कार्यक्रम रक्तदानमा मात्र सीमित हुने छैन । रक्तदानसँगै ज्ञान, योग तथा ध्यानका गतिविधि सञ्चालन गरी सहभागीलाई स्वस्थ जीवनशैली र सकारात्मक सोचतर्फ प्रेरित गर्ने तयारी गरिएको छ ।
ब्रह्माकुमारी युवा प्रभागले युवापुस्ता, विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गर्दै ‘माइन्ड स्पा एन्ड मुड क्लिनिक’ कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ । कार्यक्रममा तनाव व्यवस्थापन, मानसिक विश्राम, सकारात्मक सोच र आत्मचिन्तनसँग सम्बन्धित गतिविधि गराइने सुरज भाइजीले जानकारी दिए ।
यसले अभियानलाई रगत संकलन गर्ने परम्परागत कार्यक्रमभन्दा फरक बनाएको आयोजकको भनाइ छ । शरीरलाई आवश्यक रगतसँगै मनलाई आवश्यक शान्ति र सकारात्मक ऊर्जा दिने प्रयासका रूपमा कार्यक्रमलाई अघि बढाइएको छ ।
रक्तदान सामाजिक सेवा मात्रै होइन, जिम्मेवारी पनि’
पत्रकार सम्मेलनमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी मुख्य सञ्चालिका शारदा दिदीले रक्तदानलाई सामाजिक सेवासँगै मानवीय जिम्मेवारीका रूपमा लिनुपर्ने बताइन् । अस्पतालमा उपचाररत बिरामीको जीवन बचाउन रक्तदाताको योगदान महत्वपूर्ण हुने भन्दै उनले स्वस्थ व्यक्तिलाई अभियानमा सहभागी हुन आग्रह गरिन् ।
नेपाल रेडक्रस सोसाइटीका सभापति दिनेश भट्टराईले शरीरमा खेर जाने रगत दान गरेर अर्को व्यक्तिको जीवन बचाउन सकिने बताए । उनले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिँदै इटहरीमै रक्तसंकलन केन्द्र स्थापना गर्न सकिने सम्भावना पनि औँल्याए । सरकारी सहयोग प्राप्त भए स्थानीयस्तरमै रगत संकलनको व्यवस्था गर्न सकिने उनको भनाइ छ ।
गत वर्ष २५२ पिन्ट, यसपटक अभियान विस्तार गर्ने लक्ष्य
ब्रह्माकुमारी समाज सेवा प्रभागका अनुसार गत वर्ष सञ्चालन गरिएको अभियानबाट २५२ पिन्ट रगत संकलन भएको थियो । यस वर्ष भने रक्तदानलाई अझ व्यापक बनाउँदै नियमित सामाजिक सेवाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । रक्त अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या न्यूनीकरण गर्नुका साथै समाजमा नियमित रक्तदानको संस्कार विकास गर्ने आयोजकको उद्देश्य छ ।
पत्रकार सम्मेलनमा पूर्वेली क्लबका अध्यक्ष झलक बन, रेडक्रसका कार्यालय प्रमुख राम आचार्य, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तरहराकी सञ्चालिका शर्मिला दिदी, एभिन्युज टेलिभिजनका प्रदेश प्रमुख सचिन पोख्रेललगायतको सहभागिता थियो ।




















