att.Uo7_m9Seur3U3ugB5kMkexIrd8yWX_XwnuHx5gfjrLAपवन सिग्देल

इटहरी । युनिभर्सल डान्स सेन्टर इटहरीको आयोजनामा भइरहेको ‘जुनियर मिस्टर एण्ड मिस तराई धरान’ पहिलो संस्करणको ट्यालेन्ट राउन्ड सफलतापूर्वक सम्पन्न भएको छ। इटहरी च्याप्टरका चार संस्करण सफलतापूर्वक आयोजना गरिसकेको संस्थाले यसपटक धरानमा पहिलो संस्करण सञ्चालन गर्दै प्रतियोगितालाई अन्तिम चरणतर्फ अघि बढाएको हो।

ट्यालेन्ट राउन्डमा फाइनलमा पुगेका ३० जना बालप्रतिभाले नृत्य, गायन, वाद्यवादन र वक्तृत्वकलामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। सहभागीहरूको प्रस्तुति, आत्मविश्वास र सिर्जनात्मकतालाई आधार मानेर निर्णायकहरूले मूल्यांकन गरेका थिए।

कार्यक्रमको निर्णायक मण्डलमा फेसन डिजाइनर कृषा विष्ट, ‘मिस्टर तराई–२०२५’का विजेता रेन बस्नेत तथा डी ग्यालेक्सी डान्स क्रिउ बाँसबारीका कोरियोग्राफर सुमन परियार रहेका थिए। उनीहरूले दिएको अंकका आधारमा सिनियर समूहबाट दर्शन राई र जुनियर समूहबाट निर्जला अछामी उत्कृष्ट प्रतिभाका रूपमा छनोट हुँदै ट्यालेन्ट राउन्ड अवार्ड जित्न सफल भए। 

अब प्रतियोगिताको ग्रान्ड फिनाले आगामी भदौ ६ गते शनिबार धरानमा आयोजना हुनेछ। फाइनलमा सिनियर र जुनियर समूहका ३० जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

आयोजकका अनुसार विजेतालाई गियर साइकल, नगद पुरस्कार, क्राउन, प्रमाणपत्र, एक वर्षको निःशुल्क डान्स कोर्स, म्युजिक भिडियो र फोटोसुट गर्ने अवसर, मिडिया फिचरिङ, फेसन शोमा सहभागिता, स्कुल ब्याग, जुत्ता तथा लाइफ इन्स्योरेन्ससहित विभिन्न आकर्षक पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, फस्ट र सेकेन्ड रनर–अपलाई पनि नगद, क्राउन र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

प्रतियोगिताको व्यवस्थापन आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृति भुजेल र म्यानेजिङ डाइरेक्टर जेनिष विश्वकर्माले सम्हालिरहेका छन्। कार्यक्रमको कोरियोग्राफी उमेश खड्काले गरेका छन् भने मिडिया संयोजकको जिम्मेवारी सुवास संकल्प श्रेष्ठले निर्वाह गरिरहेका छन्। भिडियो तथा फोटोग्राफी व्यवस्थापन ‘परीकला फोटोग्राफी’ले गरेको छ।

आयोजकले प्रतियोगिताले बालबालिकामा रहेको प्रतिभालाई उजागर गर्दै उनीहरूलाई मोडलिङ, फेसन र मनोरञ्जन क्षेत्रमा सुरक्षित तथा व्यावसायिक अवसर उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।