इटहरी । सुनसरी जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/०८३ को अवधिमा ९ हजार ५ सय ५२ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी मुद्दा दर्ता भएको तथ्य अदालतले सार्वजनिक गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत अदालतले वार्षिक मुद्दा व्यवस्थापनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै कुल मुद्दामध्ये ६० दशमलव ६९ प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल भएको जनाएको हो।
मुख्य न्यायाधीश प्रकाश राउतका अनुसार एक वर्षको अवधिमा दर्ता भएका ९ हजार ५ सय ५२ मुद्दामध्ये सम्बन्ध विच्छेदका मात्रै १ हजार २ सय ४१ मुद्दा दर्ता भएका छन्। तीमध्ये ९ सय ३६ मुद्दा फर्छ्योट भइसकेका छन् भने ३ सय ५ मुद्दा अझै विचाराधीन अवस्थामा रहेका छन्। यो संख्या अदालतमा दर्ता भएका अन्य सबै प्रकृतिका मुद्दाभन्दा धेरै रहेको अदाललतले जनाएको छ।
त्यसैगरी, अंशसम्बन्धी ९ सय ४२ मुद्दा दर्ता भएका छन्। तीमध्ये ४ सय ७ मुद्दा फर्छ्योट भएका छन् भने ५ सय ३५ मुद्दा अझै विचाराधीन अवस्थामा रहेका छन्। मानाचामलसम्बन्धी ८४ मुद्दा दर्ता हुँदा ३१ मुद्दा फर्छ्योट भएको र ५३ मुद्दा बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
जग्गा विवादसम्बन्धी मुद्दाको संख्या पनि उल्लेखनीय देखिएको छ। आर्थिक वर्षभर ३ सय ५४ जग्गासम्बन्धी मुद्दा दर्ता भएकोमा ६९ मुद्दा फर्छ्योट भएका छन् भने २ सय ८५ मुद्दा विचाराधीन रहेका छन्।लागुऔषध सम्बन्धी ७८५ मुद्दामध्ये ३७९ मुद्दा फछ्र्योट भई ३०६ मुद्दा अझै अदालतमा विचाराधीन छन् ।
गम्भीर फौजदारी अपराधतर्फ हेर्दा कर्तव्य ज्यानसम्बन्धी ८५ मुद्दा दर्ता भएका छन्। तीमध्ये ३२ मुद्दा फर्छ्योट भइसकेका छन् भने ५३ मुद्दा अझै टुंगिन बाँकी रहेको मुख्य न्यायाधीश राउतले जानकारी दिए। त्यस्तै, जबरजस्ती करणीसम्बन्धी १ सय २१ मुद्दा दर्ता भएकोमा ४८ मुद्दा फर्छ्योट भएका छन् भने ७३ मुद्दा विचाराधीन अवस्थामा रहेका छन्।
बालबालिकासँग सम्बन्धित मुद्दाहरूको अवस्था पनि सार्वजनिक गरिएको छ। अदालतका अनुसार ३ सय २ बालबालिकासम्बन्धी मुद्दा दर्ता भएकोमा १ सय ९६ मुद्दा फर्छ्योट भएका छन् भने १ सय ६ मुद्दा अझै विचाराधीन रहेका छन्।
यसैगरी, अन्य विभिन्न प्रकृतिका ६ हजार ४ सय २३ मुद्दा दर्ता भएका थिए। तीमध्ये ४ हजार ७९ मुद्दा फर्छ्योट भएका छन् भने २ हजार २ सय ७३ मुद्दा अझै विचाराधीन अवस्थामा रहेका छन्।

एक वर्षमा ५ हजार ७ सय ९८ मुद्दा फर्छ्योट
अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३ हजार ८ सय ३ मुद्दा र चालु आर्थिक वर्षमा दर्ता भएका ५ हजार ७ सय ४९ नयाँ मुद्दा गरी कुल ९ हजार ५ सय ५२ मुद्दा अदालतको जिम्मेवारीमा रहेका थिए। तीमध्ये ५ हजार ७ सय ९८ मुद्दा फर्छ्योट गरिएको छ भने ३ हजार ७ सय ५४ मुद्दा अझै बाँकी रहेका छन्।
प्रतिवेदनअनुसार बाँकी रहेका मुद्दामध्ये दुई वर्षभन्दा बढी पुराना १ सय ८१ मुद्दा रहेका छन्। यस्तै १८ महिनाभित्रका २ सय ४८ मुद्दा पनि विचाराधीन अवस्थामा रहेका छन्।
पुराना मुद्दा टुंग्याउन प्राथमिकता
सुनसरी जिल्ला अदालतले बाँकी रहेका मुद्दाको अनुसन्धान तथा सुनुवाइलाई थप प्रभावकारी बनाउँदै पुराना मुद्दा फर्छ्योटलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। अदालतका अनुसार समयमै न्याय सम्पादन, मुद्दाको चाप व्यवस्थापन तथा सेवाग्राहीलाई छिटो न्याय उपलब्ध गराउने लक्ष्यसहित न्यायिक प्रक्रिया अघि बढाइएको छ।
अदालतले सार्वजनिक गरेको तथ्यांकले सम्बन्ध विच्छेदका मुद्दा लगातार उच्च संख्यामा दर्ता भइरहेका देखाएको छ।




















