इटहरी। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा इटहरी उपमहानगरपालिका–१९ स्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरूले खेतमै धान रोप्दै दिवसलाई उत्साहपूर्ण र व्यवहारिक रूपमा मनाएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रमेश कुमार शाहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालय परिसरनजिकैको खेतमा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको विशेष आकर्षण पञ्चेबाजाको धुनसँगै परम्परागत शैलीमा गरिएको धान रोपाइँ रह्यो। नेपाली मौलिक संस्कृति झल्काउने पञ्चेबाजाको तालमा विद्यार्थीहरूले परम्परागत तरिकाले रोपाइँ गरे भने, त्यससँगै आधुनिक कृषि प्रविधिको प्रयोगसमेत गरिएको थियो। यसले परम्परा र प्रविधिको सुन्दर समन्वय प्रस्तुत गरेको थियो।
विद्यार्थीहरूले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसरका रूपमा कार्यक्रमलाई लिएको बताएका छन्। खेतमै काम गर्दै उनीहरूले आधुनिक कृषि प्रणाली, परम्परागत खेतीपाती र सिर्जनशील अभ्यासबारे प्रत्यक्ष अनुभव हासिल गरेका थिए।
विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले शिक्षा केवल किताबी ज्ञानमा सीमित हुन नहुने भन्दै विद्यार्थीलाई व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गरिँदै आएको बताउनुभयो। उहाँका अनुसार यस्ता गतिविधिले विद्यार्थीमा श्रमप्रतिको सम्मान, कृषिप्रतिको आकर्षण र सीप विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख अतिथि रमेश कुमार शाहले आजको पुस्तालाई व्यवहारिक, प्रविधिमैत्री र आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता अभ्यासले शिक्षा प्रणालीलाई थप समृद्ध बनाउनुका साथै सामाजिक, सांस्कृतिक र आर्थिक चेतनाको विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो।
विद्यालयले विगत चार वर्षदेखि हरेक असार १५ मा राष्ट्रिय धान दिवसको अवसरमा यस्तै कार्यक्रम गर्दै आएको जनाएको छ। कृषिमा आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक सोचको विकास तथा बाल्यकालदेखि नै कृषिप्रति सम्मान र रुचि जगाउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको विद्यालयको भनाइ छ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका–२० का वडा अध्यक्ष मणिराम श्रेष्ठ, प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापा, कृषि अनुसन्धान निर्देशनालय तरहराका प्राविधिक अधिकृत विनोद निरौला, नेवा पुचः इटहरीका उपाध्यक्ष गोपाल श्रेष्ठ, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय कृषकहरूको पनि सहभागिता रहेको थियो।
फुजिसान सगरमाथा बोर्डिङ स्कुलले परम्परागत संस्कृति, व्यवहारिक शिक्षा र आधुनिक कृषि प्रविधिलाई एकसाथ जोडेर गरेको यो अभ्यास अन्य विद्यालयका लागि समेत प्रेरणादायी उदाहरण बन्न सक्ने सहभागीहरूले बताएका छन्।




















