सुनसरी । पहिलो पाइला नेपाल, सुन्दरहरैँचा शाखाले शिक्षा अभियान अन्तर्गत ‘भाग्य बोक्ने झोला’ वितरण कार्यक्रम सम्पन्न गरेको छ। दुहबी नगरपालिका–२ स्थित श्री नवीन शिक्षा निकेतन आधारभूत विद्यालय मा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत अत्यन्तै गरिब, विपन्न तथा अपाङ्गता भएका विद्यार्थीहरूलाई झोला वितरण गरिएको हो। विद्यार्थीहरूको शैक्षिक सामग्री व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
कार्यक्रम पहिलो पाइला नेपाल सुन्दरहरैँचा शाखाका अध्यक्ष केबल लुइँटेल को अध्यक्षतामा तथा संस्थाका केन्द्रीय महासचिव मिलन लुइँटेल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो कार्यक्रममा दुहबी नगरपालिका–२ का जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता सामाजिक तथा शैक्षिक अभियानले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई विद्यालय शिक्षाप्रति थप उत्साहित बनाउने विश्वास व्यक्त गरेका थिए।
पहिलो पाइला नेपालले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संस्थाले आगामी दिनमा पनि आवश्यकता भएका विद्यार्थीहरूलाई लक्षित गरी यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




















