इटहरी ।   इटहरीलाई पूर्वी नेपालको आकर्षक पर्यटन केन्द्रका रूपमा विकास गर्न सरकारी, निजी तथा सामाजिक क्षेत्रबीच सामूहिक सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको संयोजन तथा नेपाल टुरिजम प्लस र कोशी मिडिया नेटवर्कद्वारा आयोजित पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले इटहरीको विशिष्ट पहिचान निर्माण गर्दै पर्यटन गतिविधि विस्तार गर्नुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष तेजबहादुर पुरीले पर्यटन विकासका लागि योजनाबद्ध प्रयास, निरन्तर छलफल र प्रभावकारी टुर प्याकेज निर्माण आवश्यक रहेको बताए। उनका अनुसार इटहरी वरपर रहेका पर्यटकीय क्षेत्रको बजारीकरण र प्रवर्द्धनलाई प्राथमिकता दिन सके पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्छ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एउटा पार्कलाई आकर्षक गन्तव्यमा रूपान्तरण गरेर नयाँ पर्यटन सम्भावना सिर्जना गर्न सकिने उदाहरण प्रस्तुत गर्दै इटहरीले पनि आफ्नो विशेषता पहिचान गर्नुपर्ने बताए। उनले पर्यटकलाई के आकर्षित गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्ने सुझाव दिए।

वक्ताहरूले इटहरीलाई केवल ट्रान्जिट सहरका रूपमा सीमित नराखी पर्यटकलाई केही समय बस्न, घुम्न र खर्च गर्न प्रेरित गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे। समाजसेवी दिनेश भट्टराईले नयाँ गन्तव्य, पार्क तथा मनोरञ्जनका संरचना विकास गर्न सके पर्यटनसँगै स्थानीय अर्थतन्त्र पनि चलायमान हुने बताए।

पूर्व खानेपानी अध्यक्ष रामप्रसाद चौलागाईंले इटहरीको दीर्घकालीन पहिचान निर्माणमा पर्यटन, संस्कृति र मनोरञ्जन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए। खनारदेखि चतरासम्मको नहर क्षेत्र, पार्क तथा मानवनिर्मित पर्यटकीय संरचनाहरूले भविष्यमा हजारौं रोजगारी सिर्जना गर्न सक्ने उनको भनाइ थियो।img_7324-1536x1152

पर्यटन व्यवसायी रबिन गौतमले इटहरी दैनिक ठूलो संख्यामा मानिसको आवतजावत हुने केन्द्र भएकाले उनीहरूलाई रोक्ने खालका कार्यक्रम, सांस्कृतिक गतिविधि र पूर्वाधार आवश्यक रहेको बताए। उनले इटहरीलाई थारु संस्कृति तथा स्थानीय पहिचानसँग जोडेर नयाँ ब्रान्डिङ गर्न सकिने सुझाव दिए।

सीबी कलेजका अध्यक्ष देशबन्धु कार्कीले इटहरीलाई शिक्षा र आतिथ्य क्षेत्रसँग जोडेर ‘हस्पिटालिटी हब’ का रूपमा विकास गर्न सकिने धारणा राखे। तमोर करिडोर सञ्चालनमा आएपछि इटहरीको व्यापारिक र पर्यटकीय महत्व अझ बढ्ने उनको विश्वास छ।

होटल तथा लज व्यवसायी संघका अध्यक्ष दीपक पोखरेलले निजी क्षेत्रले पर्यटन प्याकेज निर्माणको प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै गन्तव्य पहिचान र विकासमा सबै क्षेत्रको साझेदारी आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागीहरूले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा मनोरञ्जनात्मक गन्तव्यलाई एकीकृत गर्दै दीर्घकालीन पर्यटन रणनीति बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूको निष्कर्ष थियो– स्पष्ट अवधारणा, सामूहिक पहल र दीर्घकालीन योजना बनाउन सके इटहरी पूर्वी नेपालको प्रमुख पर्यटन केन्द्र बन्न सक्छ।