मिक्लाजुङ । विश्व वातावरण दिवस २०२६ को अवसरमा हरित सामाजिक कार्य नेपालले आयोजना गरेको “चुलीपोखरी ट्रास म्याराथन” फोहोर सङ्कलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–२ स्थित चुलीपोखरी पदमार्ग क्षेत्रमा भएको उक्त कार्यक्रममा ७७ जना सहभागीले हाइकिङ, वृक्षारोपण र फोहोर सङ्कलन गरेका छन्।
खुडी, इलामबाट सुरु भएको यो म्याराथनमा सहभागीहरूले करिब ३.५ किलोमिटर पहाडी ट्रेल हिँड्दै चुलीपोखरी पुगेका थिए। त्यहाँ उनीहरूले वृक्षारोपण तथा पोखरी परिसरको सरसफाइ गरे। फर्कने क्रममा ट्रेलमा फालेको अवस्थामा रहेको मिस्रित फोहोर (प्लास्टिक, क्यान, काँच, लत्ताकपडा) सङ्कलन गरियो। आयोजकले सबै सहभागीलाई कपडाको फोहोर फाल्ने झोला प्रदान गरेको थियो, जसमा सहभागीले सङ्कलन गरेको फोहोर तौलको लागि ल्याए।
अन्त्यमा कुल १०४.१७ केजी फोहोर सङ्कलन भएको आयोजकले जनाएको छ। सबैभन्दा धेरै २१.१६ केजी फोहोर सङ्कलन गर्ने टेकमान राई (६४ वर्ष) प्रथम भए। द्वितीय स्थानमा ८.४२ केजीसहित कवान चाम्लिङ राई र तृतीय स्थानमा सिसम लिम्बु ७.७१ केजीसहित विजेता भए। विजेताहरूलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
वातावरणीय मैत्री सन्देशलाई थप जोड दिँदै आयोजकले नेपाली कागजबाट नै प्रमाणपत्र तयार गरी सबै सहभागीलाई वितरण गरेको थियो। सहभागीलाई टिसर्ट, खाजा र पानीको समेत व्यवस्था थियो।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका, वडा नं. २ कार्यालय, कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालय, सूर्यज्योती लाइफ इन्सोरेन्स, डिभिजन वन कार्यालय मोरङ, बिराट नर्सिङ होम, सास्थम कलेज, श्री पिनाकी लक्ष्मी ज्वेलर्स, सांग्रीला फुटवेर, काब्रा गुप, लाइन्स क्लब अफ विराटनगर पाथिभरा, आवर विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पसले सहयोग तथा प्रायोजन गरेका थिए।
यस कार्यक्रमले आगामी दिनमा वातावरण संरक्षण, फोहोर व्यवस्थापन र जनचेतनाका क्षेत्रमा थप ठोस पहलहरूको सुरुवात हुने सन्देश दिन्छ। स्थानीय तह, प्रदेश सरकार, निजी क्षेत्र र युवा सहभागिताको सहकार्यले मात्र दिगो विकास सम्भव छ भन्ने उदाहरण यो अभियानले प्रस्तुत गरेको छ।




















