होमिका श्रेष्ठ

धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक भेडेटारस्थित स्काइवाक टावर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। धनकुटाको भेडेटार पहाडको टुप्पोमा निर्माण गरिएको यो टावरबाट पूर्वी नेपालको प्राकृतिक सौन्दर्यलाई

नजिकबाट अवलोकन गर्न सकिने भएकाले यहाँ दैनिक रूपमा सयौँ पर्यटक पुग्ने गरेका छन्।

स्काइवाक टावरबाट सप्तकोशी नदीको मनोरम दृश्य, पूर्वी तराईका विशाल फाँटहरू तथा विश्वको सर्वोच्च शिखर सगरमाथासहित मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका हिमशृङ्खलाहरू एकैसाथ देख्न सकिन्छ। मौसम सफा भएका दिनमा सूर्योदय र सूर्यास्तको अनुपम दृश्यले पर्यटकलाई थप मोहित बनाउने गरेको छ। टावरको माथिल्लो भागबाट चारैतिर फैलिएको हरियाली, पहाडी भू–दृश्य र तराईका बस्तीहरूको दृश्यले भेडेटार भ्रमणलाई स्मरणीय बनाउने गरेको पर्यटकहरू बताउँछन्।bhedetar-sky-walk-5-1536x864

समुद्री सतहबाट करिब एक हजार चार सय मिटरको उचाइमा रहेको भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वारका रूपमा परिचित छ। शीतल हावापानी, प्राकृतिक सौन्दर्य र सहज पहुँचका कारण भेडेटार वर्षौंदेखि पर्यटकको रोजाइमा पर्दै आएको छ। पछिल्ला वर्षहरूमा यहाँ निर्माण भएका नयाँ पर्यटकीय पूर्वाधारमध्ये स्काइवाक टावर सबैभन्दा चर्चित बनेको छ।

टावर सञ्चालनमा आएपछि भेडेटारमा पर्यटकको चहलपहल बढेको स्थानीय व्यवसायीहरू बताउँछन्। होटल, रेष्टुरेन्ट तथा अन्य पर्यटनसँग सम्बन्धित व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ। विशेषगरी बिदाका दिन, सार्वजनिक छुट्टी तथा चाडपर्वको समयमा यहाँ आउने पर्यटकको संख्या उल्लेख्य हुने गरेको छ।bhedetar-sky-walk-2 (1)

प्राकृतिक दृश्यावलोकनसँगै साहसिक अनुभूति लिन चाहनेहरूका लागि स्काइवाक टावर उपयुक्त गन्तव्य बनेको छ। टावरको माथिबाट देखिने हिमाल, पहाड र तराईको संगमले भेडेटारलाई कोशी प्रदेशकै मात्र नभई देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरिरहेको छ। स्थानीय तह र पर्यटन व्यवसायीहरूले यस क्षेत्रको थप प्रवर्द्धन र पूर्वाधार विकासमा जोड दिएसँगै आगामी दिनमा भेडेटारमा पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको छ।bhedetar-sky-walk-2bhedetar-sky-walk-6-1536x864