होमिका श्रेष्ठ
इटहरी । अनुसन्धानमूलक लेखनलाई प्रोत्साहन गर्दै प्राध्यापक तथा अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले इटहरीस्थित राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला सुरु भएको छ।
इटहरी–२० तरहरामा रहेको कलेजले आयोजना गरेको कार्यशालामा कोशी प्रदेशका विभिन्न जिल्लाका १८ वटा क्याम्पसका प्राध्यापक तथा अनुसन्धानकर्ताहरू सहभागी भएका छन्। कार्यशालामार्फत अनुसन्धान लेखन, सन्दर्भ व्यवस्थापन, तथ्याङ्क विश्लेषण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक प्रा. डा. गोविन्दप्रसाद गुरागाईंले गरेका थिए। कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघ कोशी प्रदेशका अध्यक्ष अर्जुनराज अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। साथै भासी क्याम्पस र सप्तकोशी क्याम्पसका क्याम्पस प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।
उद्घाटन सत्रमा कलेजका संस्थापक अध्यक्ष मणिराम गिरी, पूर्व अध्यक्ष दलेन्द्र खड्का, निवर्तमान अध्यक्ष लिलादेवी राईलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता कलेज सञ्चालक समितिका अध्यक्ष खगेन्द्र गिरीले गरेका थिए।
कार्यशालामा प्रमुख सहजकर्ताका रूपमा डा. वन्दना जैन रहेकी छन् भने डा. विष्णु खड्का, गुणराज नेपाल, शंकर देवान, अर्जुनराज अधिकारी र अर्जुन राईले सहजीकरण गरिरहेका छन्। उनीहरूले अनुसन्धान प्रस्तावना तयार गर्ने विधि, अनुसन्धानात्मक लेखको संरचना, सन्दर्भ उद्धरण तथा प्रकाशन प्रक्रियाका विविध पक्षबारे प्रशिक्षण प्रदान गरिरहेका छन्।
क्याम्पस प्रमुख दोर्णबहादुर न्यौपानेका अनुसार राष्ट्रिय जनसहयोग कलेजले निकट भविष्यमा ‘आरजेसी जर्नल’ प्रकाशन गर्ने तयारी गरिरहेको छ। साथै कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रक्रियामा प्रवेश गर्ने तयारीमा रहेको उल्लेख गर्दै उनले त्यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
आयोजकका अनुसार कार्यशालाले सहभागीहरूलाई गुणस्तरीय अनुसन्धान लेखन र प्रकाशन प्रक्रियाबारे आवश्यक सीप तथा ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ।




















