झापा । ठाडाराई अधिकारी सेवा समाजले आफ्नो परम्परा र सामाजिक एकताको अभियानलाई निरन्तरता दिँदै यस वर्ष पनि भव्य रूपमा नारद महापुराण महायज्ञ आयोजना गर्ने भएको छ। समाजले झापाको सुरुङ्गा कोटीहवनस्थित आफ्नै भवनमा आगामी बैशाख ५ गतेदेखि १३ गतेसम्म ९ दिन लामो महापुराण सञ्चालन गर्न लागेको जनाएको छ।
समाजका अनुसार यो महापुराण केवल धार्मिक अनुष्ठान मात्र नभई देश तथा विदेशमा छरिएर रहेका ठाडाराई अधिकारी बन्धुहरूलाई एउटै सूत्रमा बाँध्ने, आपसी चिनजान र सम्बन्ध सुदृढ बनाउने तथा बंशावली खोज तथा संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। यस अभियानको सुरुवात वि.सं. २०५० सालमा डम्बर बहादुर अधिकारीको नेतृत्वमा ‘बंशावली खोजबिन समिति’ स्थापना गरी गरिएको थियो। उक्त समितिले लगातार दुई वर्ष पुराण आयोजना गरे पनि विभिन्न कारणले त्यसलाई निरन्तरता दिन सकिएको थिएन।
पछि वि.सं. २०६७ साल फाल्गुण ८ गते पुनः ‘ठाडाराई अधिकारी सेवा समाज’ नामक संस्था दर्ता गरी झापाको सुरुङ्गा कोटीहवनमा ‘ठाडाराई अधिकारी कुञ्ज’ नामक आफ्नै भवन निर्माण गरिएको हो। सोही भवनबाट समाजले विभिन्न सामाजिक तथा धार्मिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ।
समाजका अध्यक्ष दान बहादुर अधिकारीका अनुसार महापुराणले बन्धुहरूबीच आत्मीयता, सहकार्य र एकता बढाउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ। यो कार्यक्रम केवल धार्मिक क्रियाकलापमा सीमित छैन, यसले समाजलाई एकताबद्ध बनाउने र भावनात्मक सम्बन्धलाई मजबुत पार्ने काम गर्दछ,” उनले बताए।
समाजले दिएको जानकारी अनुसार यस वर्षको महापुराणमा देश तथा विदेशबाट करिब २० हजारभन्दा बढी अधिकारी बन्धु-बान्धवहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। महापुराणको अवसरमा समाजले निःशुल्क व्रतबन्ध, चौरासी पूजन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ।
महापुराणका प्रमुख कथावाचकका रूपमा पण्डित श्री ताराप्रसाद कुइकेल र उप–कथावाचकका रूपमा पण्डित श्री बाबुराम नेपाल रहनेछन्। पुराण व्यवस्थापन समितिकी संयोजक गोमा अधिकारीका अनुसार कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
त्यसैगरी, संस्थाका सचिव धुर्व कुमार अधिकारीले हाल भवन परिसरको मर्मत सम्भार, सरसफाइ तथा कुलदेवता (कुलदियो) मन्दिर निर्माण लगायतका कार्यहरू तीव्र रूपमा अघि बढाइएको जानकारी दिए। उनले महापुराणलाई सफल बनाउन सम्पूर्ण बन्धु-बान्धव तथा श्रद्धालुहरूलाई उपस्थित भई सहयोग गर्न आग्रह समेत गरेका छन्।
समग्रमा, ठाडाराई अधिकारी सेवा समाजद्वारा आयोजना हुन लागेको यो महापुराण धार्मिक आस्था, सांस्कृतिक संरक्षण र सामाजिक एकताको एक महत्वपूर्ण पर्वका रूपमा रहने अपेक्षा गरिएको छ।




















