धनकुटा ।  पर्यटन वर्ष २०८२ लाई लक्षित गर्दै पर्यटन प्रवर्द्धन र पत्रकारितामार्फत पर्यटन क्षेत्रलाई थप सशक्त बनाउने उद्देश्यका साथ धनकुटाको नाम्जेमा ४ दिने पर्यटन पत्रकारिता तालिम आजदेखि सुरु भएको छ।

नेपाल पत्रकार महासंघ, कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय, धरान (कोशी प्रदेश) को सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन कोशी प्रदेश सरकारका वन, वातावरण तथा पर्यटन मन्त्री भिम पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।1775635135197

उद्घाटन समारोहमा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष, निवर्तमान अध्यक्ष लगायत पदाधिकारीहरू तथा आयोजक टोलीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले पर्यटन विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता तालिमले स्थानीय तथा राष्ट्रिय पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।

तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट पत्रकारहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीमध्ये सोलुखुम्बुबाट रेडियो एभरेस्टका पत्रकार गोमा बस्नेत र दिनेश मगर पनि सहभागी छन्।1775635151002

चार दिनसम्म सञ्चालन हुने तालिममा पर्यटनसम्बन्धी समाचार लेखन, गन्तव्यको प्रचार–प्रसार, डिजिटल पत्रकारिता तथा पर्यटनमैत्री सामग्री उत्पादनका विषयमा प्रशिक्षण दिइनेछ। साथै, सहभागीहरूलाई व्यावहारिक अभ्यासमार्फत पर्यटन क्षेत्रसँग सम्बन्धित समाचार सामग्री तयार पार्ने सीप विकास गराइने कार्यक्रम रहेको छ।

यस तालिमले कोशी प्रदेशका पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्न, नयाँ गन्तव्यहरूको पहिचान गराउन तथा पत्रकारितामार्फत पर्यटन क्षेत्रलाई दिगो रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।