इटहरी । सुनसरीको इटहरीमा रहेकाे कञ्चनजंघा सेकेन्डरी बोर्डिङ स्कुलद्वारा आयोजित वार्षिक उत्षव तथा अभिभावक दिवश कार्यक्रम भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न सिर्जनात्मक, शैक्षिक तथा मनोरञ्जनात्मक गतिविधिहरूसहित सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि निशाहय बाल आश्रमकी सञ्चालिका गीता गौतम रहनुभएको थियो भने विशेष अतिथिका रूपमा गणेश कोइराला तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अतिथिहरूले कार्यक्रममा सहभागी भई विद्यार्थीहरूको उत्साह, सिर्जनशीलता र प्रस्तुतिलाई प्रशंसा गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै व्यवहारिक ज्ञान आर्जनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि आचार्यले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक अवस्था, उपलब्धि तथा आगामी योजनाबारे विस्तृत जानकारी दिनुभयो। उहाँले विद्यालयलाई आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने, प्रविधिमैत्री वातावरण विकास गर्ने तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने भएकाले यिनको निरन्तरता आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा शैक्षिक प्रदर्शनी (Educational Expo) तथा विद्यार्थी नवप्रवर्तन प्रदर्शनी (Student Innovation Showcase) रहेका थिए। विद्यार्थीहरूले विज्ञान, प्रविधि, वातावरण, सामाजिक विषयहरू लगायत विभिन्न क्षेत्रमा आधारित परियोजनाहरू प्रस्तुत गरेका थिए। ती परियोजनाहरूले विद्यार्थीहरूको अनुसन्धान क्षमता, सिर्जनशील सोच र व्यवहारिक ज्ञानलाई झल्काएको थियो। उपस्थित अतिथिहरू, अभिभावक तथा अन्य आगन्तुकहरूले ती प्रदर्शनीहरूको अवलोकन गर्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।
यसैगरी, कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले प्रदर्शनी अवलोकन गर्नुका साथै नयाँ–नयाँ विषयवस्तुहरूबारे जानकारी लिने अवसर प्राप्त गरेका थिए। यसले विद्यालयहरूबीच ज्ञान आदान–प्रदान तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
कार्यक्रम अवधिभर सांस्कृतिक प्रस्तुति, खेलकुद गतिविधि तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिएका थिए, जसले कार्यक्रमलाई थप रोचक र जीवन्त बनाएको थियो। विद्यार्थीहरूको सक्रिय सहभागिता र शिक्षक–अभिभावकको सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, नवप्रवर्तनको प्रवर्द्धन तथा शैक्षिक वातावरणलाई थप सशक्त बनाउने महत्वपूर्ण मञ्चका रूपमा आफूलाई स्थापित गरेको छ। यस्ता कार्यक्रमहरूले भविष्यमा विद्यार्थीहरूलाई सक्षम, सिर्जनशील र प्रतिस्पर्धी नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




















