इटहरी । बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, दुर्व्यवहार तथा शोषणका घटनालाई प्रभावकारी रूपमा व्यवस्थापन गरी पीडित बालबालिकालाई छिटो, सुरक्षित र न्यायपूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले सरोकारवालाहरूसँग एक दिने “बाल संरक्षण घटना व्यवस्थापन” सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरिएको छ।
वि.सं. २०८२ साल फागुन ६ गते बुधबार इटहरीस्थित भ्वाइस अफ चिल्ड्रेन को आयोजनामा, के–एन–एच (KNH) र जर्मन कोअपरेसनको सहयोग तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहजीकरणमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा न्यायिक, सुरक्षा, स्थानीय सरकार तथा सेवा प्रदायक निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम सञ्चालन गर्दै भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम सहायक प्रकाश परियार ले बाल संरक्षण प्रणाली अझै सुदृढ बनाउन र बाल न्याय प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बालबालिकासम्बन्धी घटना व्यवस्थापन प्रक्रियामा स्पष्टता, छिटोपन र समन्वयको अभाव हुँदा पीडित बालबालिकाले समयमा न्याय पाउन कठिनाइ हुने गरेको छ। त्यसैले विभिन्न निकायबीच साझा बुझाइ र सहकार्य बढाउन यस्तो छलफल आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो।
त्यसैगरी भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम अधिकृत लिला भुजेल ले पछिल्लो समय विशेषगरी अनलाइन माध्यमबाट हुने बाल यौन दुर्व्यवहार, साइबर ग्रुमिङ, मानसिक उत्पीडन र अन्य प्रकारका हिंसाका घटनाहरू बढ्दो क्रममा रहेको बताउनुभयो। यस्ता घटनामा समयमै पहिचान, दर्ता, उद्धार र मनोसामाजिक सहयोगको व्यवस्था हुन सकेमा प्रभावित बालबालिकाले उचित न्याय र पुनर्स्थापना सेवा पाउने उहाँले स्पष्ट पार्नुभयो।
राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरणमा सम्पन्न कार्यक्रममा सहभागीहरूबीच बालबालिकासम्बन्धी घटनाहरू कसरी व्यवस्थापन गर्ने, घटना व्यवस्थापनमा प्रत्यक्ष संलग्न संयन्त्रहरू के–के हुन्, घटना दर्ता प्रक्रियाका चरणहरू, बालबालिकाको उजुरी कहाँ–कहाँ दर्ता गर्न सकिन्छ, सरोकारवालाहरूको भूमिका तथा जिम्मेवारी लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै बालबालिकाको उद्धार गर्दा अपनाउनुपर्ने सावधानी, गोपनीयताको संरक्षण, बालमैत्री व्यवहार, अदालती प्रक्रियामा बालबालिकालाई सहज वातावरण कसरी प्रदान गर्ने भन्ने विषयमा पनि सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो।
कार्यक्रममा सेवा प्रदायक संस्थाहरूको नक्शांकन (mapping) प्रस्तुत गरिएको थियो, जसले कुनै घटना भएमा पीडित बालबालिकालाई कुन निकायबाट कस्तो सेवा प्राप्त गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी प्रदान गर्ने विश्वास गरिएको छ। यसले स्थानीय तहदेखि अदालतसम्मको समन्वयलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ। उक्त कार्यक्रममा सुनसरी जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय इटहरी, एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC), विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि तथा इटहरी उपमहानगरपालिकाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।कार्यक्रमका सहभागीहरूले बालबालिकाको संरक्षण केवल कुनै एक निकायको जिम्मेवारी नभई परिवार, समुदाय, स्थानीय तह, प्रहरी प्रशासन, न्यायालय र सेवा प्रदायक सबैको साझा उत्तरदायित्व भएको धारणा व्यक्त गरेका थिए। यस्ता समन्वयात्मक कार्यक्रमले सरोकारवालाबीच सहकार्य बढाउने र बालबालिकामाथि हुने हिंसाका घटनामा छिटो तथा प्रभावकारी प्रतिक्रिया दिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
आयोजक संस्थाका अनुसार आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमहरू निरन्तर सञ्चालन गरी बालबालिकाको अधिकार संरक्षण र न्याय पहुँच सुनिश्चित गर्ने प्रयासलाई थप सुदृढ बनाइनेछ।




















