इटहरी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने तथा किताबी ज्ञानसँगै व्यावहारिक र व्यवसायिक अनुभव प्रदान गर्ने उद्देश्यले इटहरीको शिक्षादिप एकेडेमी स्कुलले ‘फुड फेस्टिभल’ आयोजना गरेको छ।

इटहरी उपमहानगरपालिका–१६ तम्घासस्थित शिक्षादिप एकेडेमी स्कुलको आयोजनामा अतिरिक्त क्रियाकलापअन्तर्गत आज उक्त फुड फेस्टिभल सम्पन्न भएको हो। कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। फेस्टिभलमा विद्यार्थीहरूले आफैं विभिन्न खानाका परिकार तयार गरी बिक्रीसमेत गरेका थिए।20260212_130611

फुड फेस्टिभलमा १० वटा स्टल राखिएका थिए, जसमा सेलरोटी, खीर, अचार, गुलाबजामुन, पानीपुरी, चटपटे, आलुचप, मःम, पकौडा, फलफूल, ब्रेड रोललगायत दर्जनौं प्रकारका खानाका परिकार समावेश थिए। विद्यार्थीहरूले समूह बनाएर परिकार तयार गर्ने, मूल्य निर्धारण गर्ने, बिक्री गर्ने तथा ग्राहकसँग व्यवहार गर्ने सीपसमेत प्रदर्शन गरेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता व्यावहारिक गतिविधिबाट किताबी ज्ञानसँगै व्यापार–व्यवसाय सम्बन्धी आधारभूत ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार फुड फेस्टिभलले आत्मविश्वास बढाउन, समूहमा काम गर्न र सिर्जनात्मक सोच विकास गर्न मद्दत पुगेको छ।20260212_130712 1

कार्यक्रममा उपस्थित अभिभावकहरूले पनि विद्यालयले सञ्चालन गरेको यस्तो गतिविधि विद्यार्थीको चौतर्फी विकासका लागि अत्यन्त उपयोगी रहेको बताएका छन्। उनीहरूले कक्षाकोठामा सीमित पढाइभन्दा बाहिर निस्केर व्यवहारिक सीप सिकाउने कार्यक्रमले विद्यार्थीको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

विद्यालयका शिक्षकहरूले फुड फेस्टिभलको उद्देश्य विद्यार्थीलाई खानाका परिकार चिनाउने मात्र नभई पकाउने सीप विकास गर्ने, व्यवसायिक सोच जगाउने र व्यवहारिक अनुभव दिलाउने रहेको बताए। शिक्षकहरूका अनुसार विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी जीवनोपयोगी सीप सिकाउने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिँदै आएको छ।20260212_130656 1

विद्यालयका प्रधानाध्यापक सहदेभ काफ्लेले फुड फेस्टिभलले विद्यार्थीहरूभित्र लुकेका प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “विद्यार्थीहरूमा रहेको सिर्जनशीलता, नेतृत्व क्षमता र व्यवसायिक सोच उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुन्छन्। आगामी दिनमा पनि विद्यालयले यस्ता व्यावहारिक गतिविधिलाई निरन्तरता दिनेछ।20260212_130611

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। हाल शिक्षादिप एकेडेमी स्कुलमा ४ सय ८४ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन्।