इटहरी । पाथिभरा माध्यमिक विद्यालय इटहरी–४ को आयोजनामा आगामी फागुन १ र २ गते “इटहरी बालकला साहित्य महोत्सव–२०८२” आयोजना हुने भएको छ। विद्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार महोत्सव वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।
महोत्सवमा राष्ट्रियस्तरमा बालसाहित्य क्षेत्रमा सक्रिय स्रष्टा, स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ। विद्यार्थीमा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
आयोजकका अनुसार महोत्सवमा करिब ७ हजार सहभागी रहने अपेक्षा गरिएको छ। कार्यक्रममा शिक्षक, कलाकार तथा साहित्यकारबाट कला–साहित्यका विविध विधामा कार्यशालाहरू सञ्चालन गरिनेछ।
इटहरी उपमहानगरपालिकाको अभिभावकत्वमा पाथिभरा माध्यमिक विद्यालयको आयोजना तथा बुकल्याण्ड काठमाडौंको सह–आयोजनामा कार्यक्रम हुन लागेको हो। साथै काव्य–डबली, प्याब्सन कोशी प्रदेश, प्याब्सन इटहरी, हिसान सुनसरी, संगीत साधना प्रतिष्ठान इटहरी, कारखाना, वेदा, प्ले नेपाल लगायतका संस्थाहरूको साझेदारी तथा सहकार्य रहनेछ।
महोत्सव पाथिभरा माध्यमिक विद्यालयको परिसरमा बिहान ९ बजेदेखि दिउँसो ३:३० बजेसम्म सञ्चालन हुनेछ। आयोजकले विद्यार्थी, अभिभावक तथा साहित्यप्रेमी सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।




















