टोकियो, जापान — नेपालमा Gen Z पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले दमन गर्ने क्रममा धेरै युवाले ज्यान गुमाउँदा र सयौँ घाइते भएर उपचाररत रहँदा, जापानमा रहेका नेपालीहरूले आर्थिक सहयोग अभियान सुरु गरेका छन्।

विभिन्न संघ–संगठन र व्यक्तिगत स्तरमा सहयोग रकम संकलन भइरहेको छ। संकलित रकम नेपाल पठाई पीडित परिवार र उपचाररत घाइते युवाहरूलाई सहयोगस्वरूप उपलब्ध गराइने जनाइएको छ।

जापानमा रहेका नेपाली समुदायले यसलाई देशप्रेम र युवापुस्ताको पक्षमा गरिएको ऐक्यबद्धताको अभिव्यक्ति मानेका छन्। उनीहरूले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना समेत व्यक्त गरेका छन्।

नेपालमा हुने विभिन्न विपद् र कठिनाइका समयमा पनि जापानमा रहेका युवाहरूले निरन्तर आर्थिक सहयोग गर्दै आएको स्मरण गर्दै, यसपालि पनि उनीहरूले अभियान सुरु गरेका हुन्।