टोकियोधादिङ समाज जापानले आपतकालीन राहतकोष सहयोगार्थ आयोजना गरेको बहुप्रतिक्षित सांगीतिक कार्यक्रम ‘तीज धमाका जापान–२०२५’ आज (शनिबार) टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ। नकानो स्टेशन नजिकैको नाकानो जीरो हल मा साँझ ५ बजेदेखि सुरु भएको कार्यक्रममा नेपाली समुदायको ठूलो उपस्थिति रहेको थियो। प्रवेश निःशुल्क रहेकाले हल खचाखच भरिएको थियो।

कार्यक्रममा लोकप्रिय लोकगायक पशुपति शर्मा, पूर्णकला बिसी, नारायणी खत्री, श्याम शितल र राजकुमार बानियाँले एकपछि अर्को दमदार प्रस्तुति दिए। उनीहरूले गाएका तीजका गीत र लोकगीतसँगै दर्शकहरू नाच्दै–गाउँदै रमाएका थिए। कलाकारहरूको उत्साहजनक प्रस्तुति र दर्शकहरूको सहभागिताले वातावरण झन् उल्लासपूर्ण बनेको थियो।

सांगीतिक प्रस्तुतिसँगै जापानमै रहेका केही स्थानीय प्रतिभाहरूले पनि आफ्ना कला–प्रदर्शन प्रस्तुत गरी कार्यक्रममा थप रौनक भरे। धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै, यसबाट संकलित सहयोग रकम आपतकालीन राहतकोष मा जम्मा गरिने जानकारी दिए। उनका अनुसार, उक्त कोष विपत्का बेला समस्यामा परेका नेपालीहरूको सहयोगका लागि प्रयोग गरिनेछ।

आज सम्पन्न तीज धमाका जापान–२०२५ ले प्रवासमा बस्ने नेपालीबीच आपसी एकता, कला–संस्कृतिप्रतिको प्रेम र आपतकालीन अवस्थामा सहयोग गर्ने भावना झन् मजबुत पारेको सहभागीहरूले प्रतिक्रिया जनाए।