इटहरी, — सुनसरीको इटहरीस्थित कस्तुरी एकेडेमीले कक्षा १२ उत्तीर्ण गरेका २७औं ब्याचका विद्यार्थीहरूको सहभागितामा भव्य दिक्षान्त समारोह सम्पन्न गरेको छ। विभिन्न विषयका ३५० भन्दा बढी विद्यार्थीलाई एक औपचारिक कार्यक्रममार्फत प्रमाणपत्र प्रदान गर्दै दिक्षित गरिएको हो।
कार्यक्रमको अध्यक्षता प्रा.डा. केदार प्रसाद पौडेलले गरेका थिए भने प्रमुख वक्ताका रूपमा कस्तुरी कलेजकै पूर्वविद्यार्थी तथा नेपाल युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष सुदिप घिमिरे उपस्थित थिए। समारोहमा कस्तुरी एकेडेमीको व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र अधिकारी, प्रबन्धक विनोद पौडेल, कार्यकारी प्रबन्धक आकाशहाङ सुब्बा, प्रिन्सिपल भुपेन्द्र न्यौपाने, पूर्वप्राचार्य लगायतको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रमका क्रममा कस्तुरी कलेजमा दीर्घकालीन शैक्षिक योगदान दिँदै आएका विद्यावारिधी डा. विष्णु खड्कालाई विशेष सम्मान गरियो।
शैक्षिक उपलब्धिको विवरण प्रस्तुत गर्दै प्रिन्सिपल न्यौपानेले यस वर्षको वार्षिक परीक्षामा एकेडेमीका ३६ विद्यार्थीले ‘ए प्लस’, ११३ जनाले ‘ए’, १२३ जनाले ‘बी प्लस’ र ५६ जनाले ‘बी’ ग्रेड हासिल गरेको जानकारी दिए। उनले सतप्रतिशत विद्यार्थी उत्तीर्ण हुनु संस्थाको निरन्तर परिश्रम र विद्यार्थीहरूको लगनशील अध्ययनको परिणाम भएको बताए।
प्रमुख वक्ता सुदिप घिमिरेले आफ्नो विद्यालयकालको अनुभव सम्झिँदै विद्यार्थीलाई अनुशासन, लगनशीलता र सकारात्मक सोचका साथ भविष्यको यात्रामा अघि बढ्न प्रेरित गरे। “दिक्षान्त कुनै अन्तिम बिन्दु होइन, यो नयाँ यात्राको सुरुवात हो,” उनले भने।
अध्यक्ष प्रा.डा. पौडेलले कस्तुरी एकेडेमीको २७ वर्षको शैक्षिक यात्रामा यस वर्षको ब्याचले उत्कृष्ट नतिजा प्राप्त गर्नु संस्थाको गर्वको विषय भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो सीप र ज्ञान समाजमा योगदान पुर्याउने दिशामा प्रयोग गर्न आग्रह गरे।
कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, अभिभावकको सहभागिता र शिक्षक–कर्मचारीको सम्मान पनि गरिएको थियो।




















