इटहरी । इटहरी स्थित सामुदायिक तहबाट सञ्चालनमा रहेको जनता बहुमुखी क्याम्पसले आफ्नो शैक्षिक क्षितिज फराकिलो बनाउँदै भारतका दुई प्रतिष्ठित विश्वविद्यालयसँग ऐतिहासिक सम्झौता गरेको छ। यो क्याम्पसको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा पुगेको सहकार्य हो, जसले शिक्षा, अनुसन्धान तथा सांस्कृतिक आदान–प्रदानमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ। जनता क्याम्पसले भारतको हरियाणास्थित बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानस्थित श्री जे।जे।टी। विश्वविद्यालयसँग पाँच वर्षे सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको हो।
बाबा मस्तनाथ विश्वविद्यालयसँगको सम्झौता
सन् २००२ मा स्थापित बाबा मस्तनाथ विश्वविद्यालयसँगको सम्झौता २०७८ असार २४ गते भएको हो। सम्झौताको अवसरमा जनता बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष विकास केसी खत्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल भारतको हरियाणा पुगेको थियो। उक्त समारोहमा बाबा मस्तनाथ विश्वविद्यालयका कुलपति प्रोफेसर डा। एच।एल। वर्मा, रजिष्ट्रार प्रोफेसर डा। विनोदकुमार, सहायक रजिष्ट्रार तथा विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।
यो सम्झौतामा दुवै पक्षले शैक्षिक सहकार्य, अनुसन्धानमा सहलगानी, विद्यार्थी तथा प्राध्यापकहरूबीच आदानप्रदान, सांस्कृतिक सम्वन्ध विस्तारलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। बाबा मस्तनाथ विश्वविद्यालयले प्राविधिक, चिकित्सा, मानविकी र सामाजिक विज्ञानका क्षेत्रमा स्नातक, स्नातकोत्तर तथा अनुसन्धान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
श्री जे.जे.टी. विश्वविद्यालयसँगको सम्झौता
यसैगरी, असार २५ गते जनता क्याम्पसले भारतकै राजस्थान राज्यमा अवस्थित श्री जे।जे।टी। विश्वविद्यालयसँग पनि पाँच वर्षे सहकार्य सम्झौता गरेको हो। श्री जे।जे।टी। विश्वविद्यालय इन्जिनियरिङ्, व्यवस्थापन, विज्ञान तथा समाजशास्त्रजस्ता विषयहरूमा उच्चस्तरीय शिक्षण र अनुसन्धानमा ख्यातिप्राप्त छ। सम्झौतापछि अब दुवै संस्था मिलेर विद्यार्थी तथा शिक्षकको सीप विकास, पाठ्यक्रम सुदृढीकरण र संयुक्त परियोजनाहरूमा काम गर्ने योजना अघि सारेका छन्।
गुणस्तरीय शिक्षामा नयाँ युगको शुरुआत
पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसी खत्रीले भने, “यो सम्झौता हाम्रो सामुदायिक क्याम्पसको लागि मात्र होइन, सम्पूर्ण कोशी प्रदेशकै लागि गौरवको विषय हो। अब हामी अन्तर्राष्ट्रिय समन्वय, अध्ययन(अनुसन्धान र अनुभव साटासाटमार्फत गुणस्तरीय शिक्षाको दिशामा नयाँ यात्रा सुरु गर्दैछौं।”
उनका अनुसार अबको तीन महिनाभित्र जनता क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने तयारी गरेको छ, जसको लागि आवश्यक बजेट स्थानीय सरकारसँग सहकार्य गरेर जुटाइनेछ। उक्त सम्मेलनले शिक्षण संस्था, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी निकायहरूलाई एउटै मञ्चमा ल्याई शैक्षिक समृद्धिको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।
जनता बहुमुखी क्याम्पसको यो अग्रसरता सामुदायिक शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने एक महत्त्वपूर्ण प्रयास हो। भारतका प्रतिष्ठित विश्वविद्यालयसँग गरिएको समझदारीले विद्यार्थी, शिक्षक र शैक्षिक निकायबीचको अन्तरसम्बन्ध बलियो बनाउने मात्र होइन, शिक्षा क्षेत्रलाई नयाँ सम्भावनाहरूको दिशामा डोहोर्याउने विश्वास गरिएको छ।




















