इटहरी, इटहरी उपमहानगरपालिका–५ मा अवस्थित मकालु इङ्लिस बोर्डिङ स्कुलकी कक्षा १० की छात्रा मिसूँ प्रधानले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अत्यन्तै उत्कृष्ट नतिजा ल्याउँदै विद्यालयकै गौरव बनेकी छन्। प्रधानले एसईईमा ४.० ग्रेड पोइन्ट एभरेज (जिपिए) हासिल गर्दै विद्यालयकै शीर्ष स्थानमा नाम लेखाएकी हुन्।

विद्यालयका अनुसार, यस शैक्षिक सत्रमा कूल ३१ जना विद्यार्थीहरूले एसईई परीक्षा दिएका थिए। सबै विद्यार्थीहरू उत्तीर्ण भएका छन् भने प्रधानले सबैभन्दा उच्च अंक ल्याउँदै टप गरेकी हुन्। यो परिणाम विद्यालयको शिक्षणस्तर र विद्यार्थीको मेहनतको प्रतिफलका रूपमा हेरिएको छ।


मिसूँ प्रधान विद्यालयमा शुरूदेखि नै अनुशासित, परिश्रमी र जिम्मेवार छात्राका रूपमा चिनिँदै आएकी हुन्। विद्यालयका प्रिन्सिपल थानेस्वर ढकालका अनुसार प्रधान बहुप्रतिभाशाली छात्रा हुन् जसले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि सराहनीय सफलता प्राप्त गरेकी छन्। “मिसूँ प्रधानले हाम्रो विद्यालयको मात्र नभई सम्पूर्ण इटहरी क्षेत्रकै शैक्षिक छविमा सकारात्मक प्रभाव पारेकी छन्,” ढकालले भने।

प्रधानको प्रतिभा यसअघि पनि विभिन्न माध्यमबाट उजागर भइसकेको छ। उनले फक्तालुङ मिडिया प्रालिद्वारा आयोजित प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिइन्। उक्त प्रतियोगितामा प्रधानले ६० हजार रुपैयाँ नगद पुरस्कार र एक थान मेडल जितेर आफ्ना विचार र लेखन क्षमताको उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

विद्यालयका अनुसार मकालु इङ्लिस बोर्डिङ स्कुलले विगत १४ वर्षदेखि इटहरी क्षेत्रमा कक्षा १० सम्मका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। स्कुलले शैक्षिक पाठ्यक्रमसँगै विभिन्न परियोजना, नेतृत्व विकास, खेलकुद, सांस्कृतिक कार्यक्रम र व्यवहारिक ज्ञानका कार्यक्रमहरूमा जोड दिँदै विद्यार्थीकै समग्र विकासमा विशेष ध्यान दिँदै आएको छ।


विद्यालय प्रशासनले मिसूँ प्रधानको उपलब्धिलाई सम्पूर्ण विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत भएको बताएको छ। “उनीजस्तै विद्यार्थीहरू नै हाम्रो शिक्षा प्रणालीको उज्ज्वल भविष्यको आधार हुन्,” प्रिन्सिपल ढकालले बताए, “हामी भविष्यमा पनि यस्ता प्रतिभा पहिचान र प्रवर्द्धनमा प्रतिबद्ध छौँ।”


मिसूँको यस उपलब्धिले न केवल उनलाई व्यक्तिगत रूपमा सफलता दिलाएको छ, तर उनले मकालु इङ्लिस बोर्डिङ स्कुल र इटहरी क्षेत्रकै शैक्षिक प्रतिष्ठामा पनि थप इँटा थपेकी छन्। उनको लगन, अनुशासन, तथा सिर्जनात्मक क्षमताले आगामी पुस्तालाई पनि उत्कृष्ट बन्ने प्रेरणा दिने विश्वास गरिएको छ।