सुनसरी । नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रिय समिति, कटहरी र नेपाल सरदार बर्वांतर समाज उत्थान केन्द्र, सुनसरीको संयुक्त आयोजनामा नेपाल बाँतर सरदारसघंको अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । समाजको समृद्धि, पहिचान संरक्षण र सामाजिक न्यायको सवालमा कार्यक्रम गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की ,प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रवण भण्डारी विशिष्ट अतिथिका रहेका थिए । कार्यक्रमको सभापति नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रिय समितिका अध्यक्ष मोहनलाल सदारले गरेका थिए।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री कार्कीले  समावेशी तथा पहिचानमुखी कार्यक्रममा सहभागी हुन पाउँदा आफू अत्यन्तै खुसी भएको बताए  । उनले राज्यको समावेशी संरचना निर्माणमा विभिन्न जातीय, वर्गीय र सांस्कृतिक समुदायहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सरदार समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक उत्थानका लागि प्रदेश सरकार हर सम्भव सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले भने, सरदार समुदाय हाम्रो प्रदेशको अमूल्य सामाजिक पूँजी हो । यसको पहिचान, भाषा र संस्कृतिको संरक्षण गर्न हामी सबैले साथ दिनुपर्छ । सरकार नीतिगत, बजेटीय र संस्थागत रूपमा तपाईंहरूलाई साथ दिन तयार छ ।dd 1

कार्यक्रममा विशिष्ट अतिथि मन्त्री रेवति रवण भण्डारीले संविधानले प्रत्याभूत गरेको समावेशीताको मर्मलाई आत्मसात गर्दै पिछडिएका तथा अल्संख्यक समुदायका अधिकारको रक्षा गर्नु राज्यको कर्तव्य भएको उल्लेख गरे । उनले कानुन तथा प्रशासनिक सुधारमार्फत समुदायमाथि भएको ऐतिहासिक बेवास्तालाई सम्बोधन गर्न आवश्यक रहेकोमा जोड दिए । 

कार्यक्रममा  विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू, बुद्धिजीवी, स्थानीय नेताहरू, महिला अगुवा, युवाहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा समुदायको सामाजिक अवस्था, शिक्षा, स्वास्थ्य, रोजगार तथा संस्कृतिका विषयमा कार्यपत्रहरू प्रस्तुत गरिनुका साथै छलफल समेत गरिएको थियो। सहभागीहरूले राज्यसँग स्पष्ट नीति, बजेटीय व्यवस्था तथा अवसरहरूको सुनिश्चितता माग गरेका थिए ।

कार्यक्रमको समापनमा अध्यक्ष मोहनलाल सदारले सबै अतिथि, सहभागी तथा सहयोगी निकायप्रति आभार प्रकट गर्दै समुदायको हकहितमा निरन्तर संघर्ष जारी राखिने प्रतिबद्धता व्यक्त गरे ।