इटहरी ।  नेपाल स्काउटको स्थापनाको अवसरमा इटहरी उपमहानगरपालिका अन्तर्गत स्थानीय स्काउट कार्यालयको आयोजनामा पाँचदिने विशेष कार्यक्रम दीप प्रज्वलन समारोहसहित भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विविध रचनात्मक तथा सिर्जनात्मक गतिविधिहरू समावेश गरिँदै, युवामा नेतृत्व, सेवा भाव र सामाजिक उत्तरदायित्वबारे गहिरो सन्देश प्रवाह गरिएको आयोजकले बताएका छन ।

स्काउट कार्यालय इटहरीका प्रमुख आयुक्त वेनु सिटौलाले दीप प्रज्वलनमार्फत स्काउट मूल्य र मान्यतालाई उजागर गर्दै सहभागीहरूमा सेवा, एकता र प्रतिबद्धताको भावना जागृत गराएको बताए । उनले स्काउट अभियान केवल अनुशासन र कार्यक्रममै सीमित नरही युवाहरूको समग्र विकासको आधार बन्न सक्ने उल्लेख गर्दै युवाहरूलाई मुलुक र समाजप्रतिको जिम्मेवारी बोध गराउने यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा राखे ।

पाँच दिनसम्म संचालन भएको कार्यक्रममा वातावरणमैत्री कार्यका रूपमा स्काउट दल परिसरमा वृक्षारोपण, सरसफाइजस्ता सचेतना मूलक गतिविधिहरू गरिनुका साथै सिर्जनात्मक पक्ष विकास गर्न चित्रकला, शिल्पकला प्रदर्शनी, वक्तृत्वकला, हाजिरी जवाफ, डोरी गाँठो प्रतियोगिता, स्ट्याचर तथा बेन्डीज निर्माण प्रतियोगिता जस्ता विभिन्न पतीस्स्पर्धाहरू आयोजना गरिएको थियो । साथै, सामाजिक उत्तरदायित्वको भावनालाई उजागर गर्ने उद्देश्यले रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएका वृत आयुक्त थानेश्वर गुरागाईंले जानकारी दिएका छन । कार्यक्रममा वृत आयुक्त थानेश्वर गुरागाईं, सदस्यता वृद्धि आयुक्त नारायण सुवेदी, इटहरी इकाई प्रहरी कार्यालयकी डिएस्पी लक्ष्मी भण्डारी, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा राष्ट्रिय टोलीका अध्यक्ष शरणकुमार बस्नेतको विशेष उपस्थिति रहनुका साथै उनीहरूले स्काउट आन्दोलनप्रति सकारात्मक सन्देश प्रदान गरेका थिए ।

उनीहरूले स्काउटजस्तो अनुशासित र सेवामुखी संगठनले देश निर्माणका लागि सक्षम र चेतनशील नागरिक तयार पार्ने कुरामा जोड दिएका थिए । कार्यक्रमका क्रममा सहभागीहरूले आफ्नो सीप, विचार र रचनात्मकता प्रस्तुत गर्ने अवसर पाएका थिए, जसले उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि भएको पाइएको आयोजकहरूको भनाइ छ । स्काउट आन्दोलनले बालबालिका, किशोरकिशोरी र युवाहरूलाई अनुशासन, सेवा भावना, सहयोग र सकारात्मक सोचको बाटोमा डोर्याउने कार्य गर्दै आएको छ ।