इटहरी, कोशी । लागुऔषध दुव्र्यसनको समस्या नियन्त्रण गर्न कोशी प्रदेशमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स (FAN: Fight Against Narcotics)’ अभियान सुरु गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा सुरु गरिएको उक्त अभियानको उद्घाटन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधबार बिहान इटहरीमा गरेका छन्।

“अबको युद्ध, दुर्व्यसनविरुद्ध” भन्ने नारासहित अघि बढाइएको अभियान अन्तर्गत विद्यालय तहमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्य राखिएको छ। कोशी प्रदेशका सबै १४ जिल्लामा सञ्चालन हुने यस अभियानलाई प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजन अधिकारीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अघि बढाइएको जानकारी दिए।

सुनसरीबाट सुरु भएको अभियान प्रदेशव्यापी

लागुऔषध विरुद्धको यो अभियान पहिलो पटक २०७५ साल माघ १४ गते सुनसरी जिल्ला प्रहरी कार्यालयले ‘शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि’ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरु गरेको थियो। सुनसरी प्रहरी प्रमुख हुँदा डीआईजी अधिकारीले परिकल्पना गरेको यो अभियान समयक्रममा प्रभावकारी बनेपछि अहिले कोशी प्रदेशभर विस्तार गरिएको हो। अभियानको प्रारम्भिक चरणमा सुनसरीका १८ वटा माध्यमिक विद्यालयलाई समेटिएको थियो, जुन अहिले ७० भन्दा बढी विद्यालयमा विस्तार भइसकेको छ। हालसम्म ७५ हजारभन्दा बढी विद्यार्थीहरू यसबाट लाभान्वित भइसकेका छन्।

विद्यालय तथा समुदायस्तरमा प्रभावकारी पहल

प्रदेश प्रहरी कार्यालयका अनुसार ‘फ्यान क्लब’ मार्फत विद्यालयका विद्यार्थीहरूलाई लागुऔषध दुव्र्यसनको जोखिम, असर र बच्ने उपायबारे सचेत गराइनेछ। अभियान अन्तर्गत विद्यालयस्तरमा कक्षा, बहस, सचेतना कार्यक्रम, पोस्टर तथा भिडियो सामग्री वितरण गरिनेछ। साथै, दुर्व्यसनबाट प्रभावित व्यक्तिहरूलाई पुनर्स्थापना गर्न स्थानीय तह र गैरसरकारी संस्थासँग सहकार्य गरिनेछ।

कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागुऔषध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “यो अभियानले युवाहरूलाई लागुऔषधको चक्रबाट जोगाउन तथा सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको छु। प्रदेश सरकारले अभियानलाई आवश्यक नीति, योजना तथा बजेटमार्फत समर्थन गर्नेछ।”

प्रदेश सरकार र स्थानीय तहको सहकार्य

कोशी प्रदेश सरकारका विभिन्न मन्त्रीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू, स्थानीय तहका प्रमुखहरू, समाजसेवी तथा अभियानकर्मीहरूको उपस्थितिमा भएको कार्यक्रममा अभियानलाई स्थानीय तहले आफ्नो वार्षिक कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रममा सहभागी एक स्थानीय तहका जनप्रतिनिधिले भने, “हामीले विद्यालयस्तरमै विद्यार्थीलाई सचेत बनाएर उनीहरूलाई दुव्र्यसनबाट जोगाउनुपर्छ। स्थानीय सरकारको पूर्ण सहयोग रहनेछ।”

प्रदेश प्रहरी प्रमुख डीआईजी अधिकारीका अनुसार अभियानलाई प्रभावकारी बनाउन अभिभावक, शिक्षक, सामुदायिक प्रहरी साझेदारी समूह, सामाजिक संघसंस्था तथा स्थानीय तहहरूसँग सहकार्य गरिनेछ। “समुदायको सहभागिता बिना लागुऔषधको समस्या समाधान गर्न सकिन्न। प्रहरी मात्रै होइन, सम्पूर्ण समाज मिलेर लाग्नुपर्छ,” उनले भने।

समाजमा परिवर्तनको संकेत

पछिल्लो समय लागुऔषधको दुव्र्यसन समस्या बढ्दै जाँदा यसको नियन्त्रणका लागि सरकार, प्रहरी र समुदायका साझा प्रयासहरू आवश्यक भएका छन्। कोशी प्रदेशमा सुरु गरिएको ‘फ्यान’ अभियानले यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। विद्यालयस्तरदेखि समुदायसम्म फैलाइने सचेतनामूलक कार्यक्रमहरू, प्रभावितहरूका लागि परामर्श तथा पुनर्स्थापना सेवा, तथा नीति निर्माण स्तरमा पहल गरेर अभियानले समग्र प्रदेशमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो अभियानले युवाहरूलाई गलत बाटोबाट जोगाउन मात्र होइन, उनीहरूलाई स्वस्थ, सकारात्मक तथा सिर्जनशील दिशातर्फ अघि बढाउन सहयोग गर्नेछ। त्यसैले, प्रहरी, सरकार, विद्यालय, अभिभावक तथा समुदाय सबै मिलेर यस अभियानलाई सफल बनाउन लाग्नुपर्ने देखिन्छ।