काठमाडौं—नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा स्थानीय दुई समूहबीच झडप भएको छ। मंगलबार बिहान पौने १० बजेदेखि सुरू भएको स्थानीयबीचको झडप दुई घन्टापछि प्रहरीको नियन्त्रणमा आएको हो । ५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गरेपछि अहिले प्रहरीको नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नारायण थापाले जानकारी दिए।
उनका अनुसार ५ जना सिभिल प्रहरी, १५ जना प्रहरी र ५ जना स्थानीय गरी २० जना घाइते भएका छन्। झडपमा प्रहरीको गाडी, कवाड राखेको पसल पनि जलेका छन्। सोमबार बेलुकी दुई स्थानीयबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर आज पुनः झडप भए पनि यकिन कारण नखुलेको इन्स्पेक्टर थापाले जानकारी दिए। अहिले झडप नियन्त्रणमा आए पनि नेपाल प्रहरीका १५० जना र सशस्त्र प्रहरी एक सय जना परिचालन भएको उनले बताए।