कोशी प्रदेशको सुन्दर नगरी धरानको  लाङघाली चोकस्थित सुशिक्षा मन्टेस्वरीमा  बालबालिकाहरुलाई अक्षराम्भ गराउँदै  सरस्वती पूजा धुमधामका साथ मनाएको छ । सो अवसरमा  सुशिक्षामा अध्ययनरत  विद्यार्थी बालबालिकासहित अन्य  स्थानीय बालबालिका र तिनका अभिभावकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने विश्वास गरिन्छ ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण सरस्वती पूजाको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सुशिक्षामा समेत सरस्वती पूजाकै दिन पारेर उल्लेखीय संख्यामा बालबालिकाहरुलाई  अक्षराम्भ गराइएको सुशिक्षा मन्टेस्वरीकी प्रधानाध्यापक रश्मी भट्टराईले जानकारी दिएकी छन् । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ। 

 बालमैत्री शिक्षण अभ्यासका लागि छोटो समययमा नै नाम कमाएको लाङघाली चोकमा अवस्थित सुशिक्षाले आफ्नै सुविधासम्पन्न भवनसहितको भौतिक पूर्वाधार, पर्याप्त खेल सामग्रीहरु र स्वास्थ्यवद्र्धक ताजा खानपानको व्यवस्थासहित शिशु कक्षादेखि यूकेजीसम्म शिक्षण सिकाइ गराउँदै आएको छ । सुशिक्षामा अनुभवी शिक्षकहरुले बालबालिकामैत्री शिक्षण सिकाइबाट पठनपाठन गर्ने भएकाले अभिभावकहरुको समेत मन जित्दै गएको  प्रधानाध्यापक भट्टराईले बताएकी छन् ।