विराटनगर स्थित शिक्षादीप कलेजले भविष्यमा अन्तरिक्ष विज्ञान क्षेत्रमा रोजगारीको सम्भावना देखिएकाले अन्तरिक्ष विज्ञान तर्फ विद्यार्र्थीहरुको आकर्षण बढाउन ६ दिने एस्ट्रोनोमी, स्याटेलाइट र रकेट साइन्स कार्यशाला आयोजना गरेको छ ।

बुधवार देखि आयोजना गरेको सो कार्यशालाको शुभारम्भ गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले व्यवसायिक शिक्षा अहिलेको आवश्यकता भएकाले अन्तरिक्ष विज्ञान पढेर पनि रोजगारी पाइने बताए । उनले विराटनगरलाई शिक्षाको हबका रुपमा विकास गर्न आफुहरु लागिपरेको र यसका लागि विराटनगरमा संचालित कलेजहरुले पनि उच्च गुणस्तरको शिक्षा प्रदान गर्न सहयोग गर्नुपर्ने बताए । उनले डाक्टर र इन्जिनियमा मात्र नभएर अन्य विषयहरुमा पनि विद्यार्थीको भविष्य रहेको बताए । 

सो, कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा.यादवराज कोइरालाले अबको कुनै पनि शैक्षिककार्यक्रम सैद्धान्तिक मात्र भएर नपुग्ने भएकाले व्यवहारिक शिक्षा दिन आवश्यक रहेको बताए ।

द स्क्वाड अफ चेन्जमेर्कर्सको सहकार्यमा आयोजना गरिएको ६ दिने कार्यशालामा ३५ जना विद्यार्थीहरुलाई स्पेस क्राफ्ट, रकेट साइन्स, अन्तरिक्ष विज्ञान र ड्रोन अपरेशनबारे प्रशिक्षण दिइने बताइएको छ । सो कार्यक्रममा शिक्षादीप कलेज परिवार विद्यार्थीहरु ,पत्रकारहरु र विभिन्न कलेजका संचालकहरुको सहभागिता रहेको थियो ।