विराटनगर १८ लाभाघाटमा गाँजा बोकेको एम्बुलेन्स सहित चालकलाई मोरङ प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ  गरेको हो ।  

इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा को १ च ४६१९ को एम्बुलेन्सको डिकीमा राखी ल्याएको २१.५ किलोग्राम गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चालक धरान–११ का गंगा सरकार रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

प्रहरीका अनुसार गाँजा बरामद भएसँगै राजन अधिकारी फाउण्डेशन धरानद्वारा सञ्चालित उक्त एम्बुलेन्स चालक र सोही स्थानमा रहेको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर–१८ स्थित खेतमा परालमा लुकाई राखेको साढे १६.५ किलोग्राम गाँजा बरामद गरेको छ।

गाँजासहित पक्राउ परेको एम्बुलेन्स र चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।