जनकपुर । आज सोमवार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्नुभएको हो । दर्शकासाथै उहाँले जानकी मन्दिरमा पूजाअर्चना र प्रसाद ग्रहण गर्नुभएको थियो । उहाँलाई  मन्दिरका महन्थ रामतपेश्वर दासले पूजा अर्चना गराउनुभएको थियो उहाँसँगै  प्रथम महिला सविता पौडेल समेत पूजामा सरिक हुनुभएको थियो । राष्ट्रपति पौडेल करिव ४० मिनेट जानकी मन्दिरमा पूजा अर्चनामा सहभागी हुनुभएको थियो । राष्ट्रपति पौडेल ६ दशकदेखि अनवरत रुपमा हुँदै आइरहेको सीताराम राम संकिर्तनमा समेत केही बेर सहभागी हुनुभएको थियो । राष्ट्रपति पौडेलसँगै नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधी, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वमन्त्री रामकृष्ण यादव पुग्नुभएको थियो । जानकी मन्दिरको पूजा सकिएपछि राष्ट्रपति पौडेल मधेस प्रदेशका प्रदेशप्रमुख हरिशंकर मिश्रको निवासमा विश्रामका लागि जानुभएको थियो । आजै दिउँसो १ बजे नवनिर्मित महेन्द्रनारायण निधी मिथिला संस्कृति अध्ययन केन्द्रको भवनमा उनलाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । २३ वर्षको लामो प्रतिक्षापछि महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रको राष्ट्रपति पौडेलले उद्घाटन गरेपछि सोही भवनको सभा हलमा उहाँलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । उपमहानगरले राष्ट्रपति पौडेललाई मैथिली भाषामा लेखिएको अभिनन्दन पत्रसहित अभिनन्दन गर्नुका साथै जानकी मन्दिरको प्रतिक उपहार प्रदान गर्नेछ ।